यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ। घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो।
कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा ७०० देखि एक हजार रूपैयाँसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले बताए। “पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ। धादिङमा ३८ करोड ५० लाख र तनहुँ डेढ करोड गरी ४० करोड रूपैयाँ लगानी गरिसकेको छु”, उनले भने।
यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ। उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले बताए।
उनले भने, “पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ।”
कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन्। त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउन प्रयोग हुन्छन्। खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो २५० रूपैयाँमा बिक्री गर्ने गरिएको छ। हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन्।
फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले बताए।
सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ। कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ। प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल एक हजार २०० रूपैयाँमा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए।
धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उनले बताए। वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ। विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ।
अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ। चैतवैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ। मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन्। यसका लागि ज्यालादारीमा कामदार खटाएको कार्कीले बताए।
विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले बताए। धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए। “यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु। हालसम्म राम्रै भइरहेको छ। यहाँ आउने धेरैले आहा! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन्। सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ”, उनले भने।
प्रकाशित: २२ जेष्ठ २०८२ १०:०३ बिहीबार