राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सूर्य ढुङ्गेलले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि राजनीतिक नेतृत्वको दोहोरो चरित्र र प्रहरी प्रशासनको उदासीनता प्रमुख बाधक रहेको औंल्याएका छन्।
उनले विभेदका घटनामा प्रहरीले उजुरी लिन नमान्दा पीडितले आयोग गुहार्नुपर्ने र आयोगको हस्तक्षेपपछि मात्र कारबाही अघि बढ्ने गरेको कटु यथार्थ प्रस्तुत गरे।
राष्ट्रिय दलित आयोगले बुधबार राजधानीमा आयोजना गरेको ‘जातीय भेदभाव तथा छुवाछूत’ विषयक संवाद कार्यक्रममा बोल्दै ढुङ्गेलले यस्तो बताएका हुन्।
समाजमा विद्यमान यस विकृतिलाई जरैदेखि उखेल्न गैरदलित समुदायको सक्रिय अग्रसरता र उदाहरणीय व्यवहार अपरिहार्य रहेकोमा उनले जोड दिए।
आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै ढुङ्गेलले भने, ‘महोत्तरीमा रहँदा मैले घरमा दलित युवकलाई भान्छे राखेको थिएँ। उहाँले पकाएको खाना हाम्रो परिवारले खान सुरु गरेपछि समाजमा यसले सकारात्मक प्रभाव पार्यो र क्रमशः अरुले पनि दलितले छोएको खान सहज मान्दै गए।’ यस्ता अभियानहरूले मात्र समाजमा वास्तविक रूपान्तरण ल्याउने उनको भनाइ थियो।
नेपालको नेतृत्व तहका व्यक्तिहरू भाषणमा विभेद अन्त्यको कुरा गरे पनि व्यवहारमा लागू नगर्ने प्रवृत्तिका कारण समस्या ज्यूँकात्यूँ रहेको ढुङ्गेलले टिप्पणी गरे।
‘नयाँ संविधान जारी भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत विभेदमा कमी आउन सकेको छैन,’ उनले भने, ‘आयोगमा जातीय विभेदका घटनामा प्रहरीले उजुरी लिन नमानेको भन्दै निवेदन पर्ने गरेका छन्। आयोगले निर्देशन दिएपछि मात्र प्रहरीले उजुरी दर्ता गर्ने गरेका कैयौं घटना छन्।’
उनले समाज परिवर्तनका लागि सबैले हातेमालो गर्दै स्वयं उदाहरण बनेर प्रस्तुत हुनुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित: २१ जेष्ठ २०८२ १८:१२ बुधबार