राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको मागसहित सडक आन्दोलनमा उत्रिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले तेस्रो दिनको प्रदर्शन उत्साहजनक रूपमा सम्पन्न भएको र जनसमर्थन बढ्दै गएको बताएका छन्।
उनले सरकारले लगाएको निषेधाज्ञा आफूहरूका लागि ‘वरदान’ साबित भएको टिप्पणी गरे।
शनिबार एक भिडियो सन्देश जारी गर्दै संयोजक सुवेदीले भने, ‘जनप्रदर्शनको आज तेस्रो दिन बडो उत्साहका साथ सम्पन्न भयो। बढ्दो जनसहभागिता, बढ्दो जनसमर्थन हाम्रो लागि प्रेरणाको स्रोत साबित भएको छ।’
उनले शान्तिपूर्ण प्रदर्शनलाई सीमामा बाँध्न सरकारले जारी गरेको निषेधाज्ञा ‘भ्रष्ट शासकका लागि अभिशाप र हाम्रो लागि वरदान बनेको’ बताए।
सुवेदीले आन्दोलनमा सहभागीको संख्या मात्र नभई सडक, बाटो छेउ र घरका छतबाट समेत ताली बजाएर र नारामा साथ दिएर काठमाडौंवासीले ‘होस्टेमा हैँसे’ गरेका कारण आफूहरू थप उत्साहित भएको उल्लेख गरे।
‘यही जनादेशलाई शिरोपर गर्दै संयुक्त जनआन्दोलन समितिले लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्नेछ,’ उनले भने।
समितिका अनुसार जेठ १८ गते आइतबार दिनको २ बजे नारायणचौरमा भेला भई आन्दोलन पुनः प्रारम्भ गरिनेछ।
प्रकाशित: १७ जेष्ठ २०८२ २१:१५ शनिबार