समाज

घरघरमै पुगेर पशुपन्छीको उपचार

राप्तीसोनारी–५, आलीनगरकी सावित्राकुमारी थारुका दुईवटा बाख्रामा एकाएक पातलो दिसा हुने र मुख पाक्ने समस्या देखियो । नजिकै पशु अस्पताल थिएन, तर सावित्राले हार मानिनन् । उनले सीधै गाउँपालिकामा फोन गरिन् । फोन गरेको केही समयमै गाउँपालिकाका पशु चिकित्सक घरमै आइपुगे । तत्काल उपचार भयो । यसले उनीलाई खुसी तुल्याएको छ ।

‘गाउँपालिकाबाट डाक्टर तत्कालै नआएको भए अरु बाख्रामा पनि सर्न सक्थ्यो,’ सावित्रा भन्छिन्, ‘समयमै उपचार भएपछि समस्या फैलिन पाएन ।’ सावित्रा व्यावसायिक रूपमा बाख्रा पालन गर्छिन् । यस्तो बेलामा घरमै सेवा पाउँदा न त झन्झट भयो, न त थप खर्चै लाग्यो ।

राप्तीसोनारी–३ का किसान प्रमिला थारु र सीता थारुले पनि पशु सेवा घरमै पाएका छन् । प्रमिला भन्छिन्, ‘बाख्रामा समस्या देखिएपछि पालिकामा सम्पर्क गर्दा तुरुन्तै डाक्टर आइपुगे । घरमै उपचार हुँदा समय र खर्च दुवै बचत भयो।’ सीता थारु थप्छिन्, ‘पहिले उपचारका लागि टाढा जानुपथ्र्याे । अब पालिकाले घरमै सेवा दिन थालेपछि धेरै सहज भएको छ ।’

राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कृषितर्फ एक करोड बढी रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस बजेटमा जैविक विषादी खरिद, तालिम, गहुँको बीउ वितरण, कृषि बिमा, बगर खेती, प्राङ्गारिक टोल विकास, साझेदारी व्यावसायिक फलफूल खेती, सिँचाइ सुविधा र कृषि उत्पादन कार्यक्रमहरू समावेश छन् ।

गाउँपालिकाले घरघरमै पुगेर पशुपन्छीको उपचार सेवा सुरु गरेपछि किसानहरूमा उत्साह देखिएको छ । अध्यक्ष तप्त बहादुर पौडेल भन्छन्, ‘हामीले वार्षिक कार्यक्रम बनाएर पशु सेवा घरघरमै पु¥याइरहेका छौँ । किसानलाई घरमै सेवा दिन पाउँदा हामी पनि खुसी छौँ ।’ स्थानीय सरकारले काम जनतालाई सहज र सरल ढंगले सेवा दिनु भएको भन्दै उनले भने, ‘पालिकाले घरघरमै पुगेर सेवा दिँदा यहाँका किसानलाई पशुपन्छी पालन व्यवसायमा अझ बढी हौसला प्रदान गरेको छ ।’

यहाँका अधिकांश किसान पशुपालनमा आश्रित छन् । वरपर जङ्गल र घाँसे मैदानले पशुपालनलाई सहज बनाएको छ। तर, पशुपन्छी बिरामी हुँदा समयमै उपचार नपाउँदा ठूलो क्षति हुन सक्ने जोखिम रहँदै आएको थियो । अब भने, राप्तीसोनारीका किसानहरूका लागि पशु सेवा टाढा होइन, ढोका अगाडि आइपुग्ने सेवा बनेको छ । यसले ग्रामीण जीवनमा व्यावसायिक पशुपालनलाई अझ बलियो बनाउँदै लगेको छ ।

राप्तीसोनारी गाउँपालिकामा पशुपालन व्यवसाय तीव्र रूपमा फस्टाउँदै गएको छ । यहाँका किसानहरू, विशेषतः महिलाहरू, बाख्रा पालन, गाईपालन, भैंसीपालन, कुखुरा पालन, बंगुरपालनजस्ता व्यवसायमा संलग्न छन्, जसले उनीहरूलाई आत्मनिर्भर बनाउँदै लगेको छ ।

यसका अतिरिक्त, सामाजिक महिला उद्यमी सहकारीका अनुसार, राप्तीसोनारी क्षेत्रमा करिब २५ हजारभन्दा बढी बाख्रा छन्, र ६ सयभन्दा बढी महिला किसानहरू व्यावसायिक बाख्रा पालनमा सक्रिय छन् । यसले यहाँका महिलालाई प्रत्यक्षरुपमा आयआर्जनसँग जोडेको छ।

राप्तीसोनारी गाउँपालिकामा पशुपालनले किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । विशेषतः महिलाहरूको सक्रिय सहभागिताले समुदायमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता बढेको छ । आम्दानीको सदुपयोगले शिक्षा, स्वास्थ्य, आवास, र पुनः लगानीजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ ।

जिल्लाकै सबैभन्दा धेरै पशुपालन हुने पालिका राप्तीसोनारी हो । यहाँ वार्षिक पाँच÷सात करोड रुपैयाँभन्दा बढीको पशुपन्छीको कारोबार हुन्छ । सामाजिक उद्यमी महिला सहकारीमार्फत वार्षिक तीन करोडभन्दा बढी खसी बोका उत्पादन हुन्छन् ।

पशुपालनबाट प्राप्त आम्दानी किसानहरूले विभिन्न आवश्यकताहरूमा खर्च गर्न सहज भएको छ । ‘बालबालिकाको विद्यालय शुल्क, स्टेशनरी, पोसाक किन्न पैसाको समस्या पर्दैन,’ प्रमिलाले भनिन्, ‘औषधोपचार, नियमित जाँच, कृषि तथा पशुपालनमा पुनः लगानी, घाँस उत्पादन, पशु आहार, नयाँ पशु खरिदसँगै सामाजिक तथा सांस्कृतिक खर्चजस्तै चाडपर्व, विवाह, अन्य सामाजिक कार्यहरू खर्च गर्दा पैसाका टट्कारो पर्दैन ।’

पालिकाले योसँगै विभिन्न समयमा पशुपन्छीको उपचारका लागि शिविर समेत राखेको हुन्छ । यसले पनि गाउँघरका पशुपन्छीमा देखिने रोगको समयमै पहिचान गरी निदान गर्ने गाउँपालिकाले जनाएको छ । फिल्डमै जाँदा कतिपय किसान छुट्न सक्ने भएकाले गाउँमा शिविरहरू पनि गर्ने गरिएको राप्तीसोनारी गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत पीताम्बर बुढा मगरले जानकारी दिए । ‘गाउँ तथा घरघरै नजाने हो भने किसानका पशुपन्छीको उपचार गर्न कठिन छ,’ उनले भने, ‘यहाँको किसानको पशुपन्छीको रेखदेखका लागि गाउँ गाउँमै जानै पर्छ।’ उपचारसँगै गाउँपालिकाले पशुपन्छीमा लाग्ने विभिन्न खाले रोगहरूका विषयमा परामर्शसमेत दिँदै आएको छ । जसले किसानलाई समयमै उपचार गराउन मद्दत पुगेको छ । वडा वडाका पशुपन्छी प्राविधिकहरू भएको गाउँपालिकाले जनाएको छ ।

पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार पालिकाका तीन ठाउँमा एक÷एक दिने शिविर समेत सञ्चालन गरिएको छ । जसमा चार सय ७५ किसानका १० हजार ३० वटा पशुपन्छीको उपचार भएको छ । यस्तै यस आर्थिक वर्षमा २४ लाख बराबर रुपैयाँको औषधि खरिदका लागि रकम विनियोजन भएको छ । हालसम्म गाउँपालिकामा एक लाख ११ हजार चार सय ५४ वटा पशुपन्छीको पालिकाले उपचार गरेको छ । यसबाट सात हजार पाँच सय ६ घरधुरी लाभान्वित भएका छन् ।

गाईपालन तीन, पशुपालन सात, पशुपन्छी पालन ४४, भैँसी पालन २१, कृषि तथा पशुपन्छी पालन ३२, बाख्रा पालन ९०, बंगुरपालन ४२, कुखुरा पालन ४२, प्रालि चार, पशुपन्छी एकीकृत तीन, बहुउद्देश्यीय ६ र मल्टी प्रपोज दुईवटा व्यावसायिक पशुपन्छी पालन फार्म छन् ।

प्रकाशित: १३ जेष्ठ २०८२ ११:२३ मंगलबार