समाज

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्व सुरु

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबारदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व तिजी सुरु भएको छ। उपल्लो मुस्ताङमा तिजी पर्वलाई मुख्य धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।

लोछोदिन समुदायका गुरुङ र विष्ट एकै ठाउँमा भेला भएर तिजी पर्व हर्षोल्लासका साथ मनाउँछन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग र छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा तिजी पर्व सुरु भएको हो। तिब्बती भाषामा यसलाई ‘तेन्जी’ भनिन्छ।

तिजी पर्वमा स्थानीयले आफ्नो हैसियतअनुसार खानपान गर्छन् र नयाँ मौलिक वेशभूषा तथा गरगहना लगाउँछन्। पर्व अवधिभर गुम्बा र छोर्तेनमा सामूहिक पूजा गर्ने चलन छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले तिजी तीन दिनसम्म मनाइने बताए। ‘तिजी पर्व एक धार्मिक पूजा हो, तर लोछोदिन समुदायले यसलाई पर्वका रूपमा विस्तार गरेको हो,’ उनले भने, ‘उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई आक्रमणबाट जोगाउन, शान्ति कायम गर्न र सबैको कल्याण होस् भन्ने उद्देश्यले यो पर्व मनाइन्छ।’

उपल्लो मुस्ताङका सातवटै साविक गाविसका मानिस तिजी पर्वमा लोमान्थाङमा उपस्थित भएर शान्ति पूजामा सहभागी हुन्छन्। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले तिजी पर्व उपल्लो मुस्ताङको सांस्कृतिक धरोहर भएको बताए। उनले यो पर्वले समृद्धि, विकास, शान्ति र नागरिकलाई भावनात्मक रूपमा एकताबद्ध गर्न महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।

छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले तिजी पर्व आठौँ शताब्दीमा गुरु पद्मसम्भवको पालादेखि सुरु भएको र पन्ध्रौँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि नियमित भएको बताए। सन् १९६३ देखि नियमित रूपमा तिजी मनाइँदै आएको छ, तर कोभिड-१९ का कारण सन् २०२० देखि तीन वर्ष यो पर्व रोकिएको थियो।

तिजी पर्व तीन दिनसम्म चल्छ। बिहान ६:०० देखि १२:०० बजेसम्म गुम्बामा लामाले बज्रकिलया र महाकाल देवताको पूजा गर्छन्। यो पूजाले उपल्लो मुस्ताङलाई कुदृष्टिबाट जोगाउने, विश्व शान्ति कायम गर्ने, रोगब्याधी र प्राकृतिक विपद् नहोस्, अन्नबाली सप्रियोस् र लोछोदिन समुदायमा सुख-शान्ति होस् भन्ने कामना गरिन्छ।

पर्वको तीन दिनसम्म बिहानको पूजापछि मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसरमा छोदे गुम्बाका लामाले बज्रकिलया र महाकाल देवताको नृत्य प्रस्तुत गर्छन्। यो नृत्य ५४ प्रकारका हुन्छन् र दुरुस्तै तिब्बती शैलीमा मुकुट पहिरिएर प्रदर्शन गरिन्छ। पर्वको अन्तिम दिन तीन दिनसम्म पूजामा राखिएको तोर्म गाउँबाहिर लगेर बिसर्जन गरिन्छ। बिसर्जनको दिशा लामाले पूजा गरेर निर्धारण गर्छन्। तोर्म बिसर्जनमा मुस्ताङी राजपरिवार, लामा र स्थानीय सहभागी हुन्छन्।

तिजी सुरु हुँदा मुस्ताङी सांस्कृतिक राजाको दरबारमा राखिएको ३० फुट लामो गुरु पद्मसम्भवको लुङ्ता निकालेर नृत्यस्थल नजिकै झुन्ड्याइन्छ। यो लुङ्ता वर्षमा एकपटक तिजीको बेला मात्र सार्वजनिक गरिन्छ र पर्व सकिएपछि दरबारमै राखिन्छ। 

तिब्बती संस्कृतिको झल्को दिने तिजी पर्व विदेशी पर्यटकले चासोका साथ अवलोकन गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङका प्रमुख उमेश पौडेलले पर्यटकले पर्वको फोटो र भिडियो खिचेर सांस्कृतिक समृद्धि बुझ्ने गरेको बताए। तिजीको अवसरमा लोमान्थाङमा पर्यटकीय रौनक बढेको उनले उल्लेख गरे।

यस हप्ता मात्र ५०२ विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएका छन्। सन् २०२५ को मे १ देखि मे २३ सम्म ७५५ र जनवरीदेखि मे २३ सम्म १,६४७ विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेको एक्याप लोमान्थाङले जनाएको छ। रासस

प्रकाशित: ११ जेष्ठ २०८२ ०६:३६ आइतबार

#Nagariiknews