समाज

पशुपति क्षेत्र विकास कोषको सम्पत्तिमा पदाधिकारीको मनपरी

पशुपति क्षेत्र विकास कोषका पादधिकारीहरुनै कोषको दोहनमा लागेका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी पनि कोष दोहोनमा लागेका हुन् ।

उनी हालैमात्र हाजिर कपीमा बिरामी र पर्व बिदा जनाएर कोषकै गाडी दुरुपयोग गरी रारा घुम्न गएको पाइएको छ । उनले कोषको गाडी मात्र होइन, तेल र चालकलाई समेत निजी भ्रमणमा लगेका छन् ।  

नागरिकलाई प्राप्त प्रमाणको आधारमा उनले रारा घुमेर आएपछि हाजिर कपीमा बिरामी बिदा र पर्व बिदा जनाएका छन् । उनले गत चैत २३ गते हलुका सवारी चालक पोखरी प्रसाद नेपालले चलाउँदै आएको स्करपियो गाडी गरेर चैत ३१ गतेसम्म प्रयोग गरेका थिए । सपरिवार रारा घुम्न गएका उनी र उनको परिवार सवार उक्त गाडी चालक नेपाल आफैंले चलाएका थिए । उनले बी एडी ८१०१ नम्बरको गाडी लगेको कोषको रेकर्डमा देखिएको छ ।  

कोषाध्यक्ष सुवेदीले आफू बिदामा घुम्न गएको बताए । उनले मन्त्रीलाई सोधेर, स्वीकृति  लिएर गएको दाबी गरे । ‘मैले मन्त्रीज्यूलाई सोधेर बिदा लिएर गएको हुँ । यसमा अनावश्यक विवाद झिक्न आवश्यक छैन,’कोषाध्यक्ष सुवेदीले भने । समान पदमा सदस्यसचिवले बिदा स्वीकृत गर्न नमिल्ने भएकाले मन्त्रीले बिदा स्वीकृत गरेको सुवेदीको दावी छ ।  

यद्यपि उनले फर्केर आएर दुई दिन बिरामी बिदा र दुईदिन पर्व बिदा भरेका छन् । ‘मेरो पर्व बिदा बाँकी थियो त्यसमै गएको हो’,उनले भने ।  

कोषमा अनावश्यक रुपमा सावरी साधानको दुरुपयोग हुने गरेको छ । एक महिनामा कोषका पदाधिकारीले १ सय ३५ लिटर तेल र गाडी सुविधा पाउने छन् । उनीहरुले त्यसको प्रयोग कोषको काममा भन्दा पनि आफ्नो व्यक्तिगत तथा पारिवारिक घुमघाममा प्रयोग गर्ने गरेका छन् ।  

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव निर्मल कुइँकेलसहित नौ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकै समयमा कोषाध्यक्ष सुवेदी पनि झिनामसिना काममा लोभिएका छन् । उनले आफ्नो सुविधाको भन्दा पनि बढी तेल सुविधा लिएर कोषलाई आनावश्यक भारमा पारेका छन् ।  

कोषको जग्गामा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू दोषी ठहर भएको विषय बाहिर आइरहँदा साना विषयहरु पनि बाहिर आउन थालेका छन् । कोषका पदाधिकारीहरुले कोषको दोहनमा लागेका छन् ।  

प्रकाशित: ९ जेष्ठ २०८२ १८:४८ शुक्रबार

#NagarikNews #Pashupati Chetra Bikash Kosh