समाज

के हो सुन्दरहरैँचाको ‘उत्कृष्ट ढुकुर जोडी’ कार्यक्रम ?

मोरङको सुन्दरहरैँचा नगरपालिकाले सामाजिक सद्भाव र पारिवारिक मेलमिलापलाई प्रोत्साहन गर्न ‘उत्कृष्ट ढुकुर जोडी’ कार्यक्रमका लागि आवेदन माग गरेको छ।

नगरप्रमुख केदारप्रसाद गुरागाइँका अनुसार यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पारिवारिक सम्बन्ध र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नगरपालिकाको न्यायिक समितिमा पति-पत्नीबीचको झैझगडा, लैंगिक हिंसा, गाली-बेइज्जतीलगायतका मुद्दा बढ्दै गएको सन्दर्भमा यस्ता घटनालाई न्यूनीकरण गर्न र उदाहरणीय दाम्पत्य जीवन बिताइरहेका जोडीहरूलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख गुरागाइँले छोरा-बुहारी र छोरी-ज्वाइँ दुवैले यो कार्यक्रममा सहभागी हुन सक्ने बताए। 

आवेदनका लागि न्यूनतम सर्तहरू:

१. विवाह भएको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने।
२. श्रीमान्-श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने।
३. विवाह दर्ता भएको हुनुपर्ने।
४. सुन्दरहरैँचा नगरपालिकामा स्थायी बसोबास गरेको हुनुपर्ने।
५. छोराछोरीको जन्म भएको भए जन्मदर्ता गरेको हुनुपर्ने।
६. नागरिकता बनाउने उमेर पुगेका छोराछोरीको नागरिकता भएको हुनुपर्ने।
७. विद्यालय जाने उमेरका छोराछोरी भए विद्यालय भर्ना गरेको हुनुपर्ने।
८. संयुक्त परिवारमा (बुबा-आमा वा सासू-ससुरासँग) निरन्तर बसेको हुनुपर्ने।
९. बुबा-आमा वा सासू-ससुराको राम्रो हेरचाह र माया-ममता गरेको हुनुपर्ने।
१०. हालसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति वा समाजमा झगडासम्बन्धी निवेदन दर्ता नगरेको हुनुपर्ने।
११. निरन्तर नेपालमा बसोबास गरेको र वैदेशिक रोजगारीमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने।
१२. माथिका शर्तहरू पुष्टि गर्ने कागजातसहित फारम पेश गर्नुपर्ने।  

प्रकाशित: ९ जेष्ठ २०८२ १४:५० शुक्रबार

#NagarikNews #couple #Pair of doves