धनुषामा बाटो बनाउन खनिएको खाल्डोमा भरिएको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
कमला नगरपालिका २ सराबेस्थित बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा ऋतिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा ऋतिश साहको मृत्यु भएको हो।
मङ्गलबार (आज) दिउँसो दुबै बालक घरबाट खेल्दाखेल्दै खाल्डोमा जमेको पानीमा नुहाउन त्यहाँ पुगेका थिए। अबेरसम्म घर नफर्केपछि खोज्दै जाँदा दिउँसो सवा तीन बजेको समयतिर दुबै बालक पानीमा डुबेको भेटियो।
धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी बरुण बहादुर सिंहका अनुसार बालकहरू घरभन्दा करिब ५० मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा हिजो पनि नुहाउन पुगेका थिए। घरबाट बाहिर निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजबिन सुरु भएको थियो। उनीहरू पछि खाल्डोमा डुबेको अवस्थामा भेटिए।
दाजुभाइको मृत्यु भएपछि सिङ्गो टोल शोकमग्न भएको छ। बाटो बनाउनेहरूको लापरवाहीको कारण दुई बालकको ज्यान गएको भन्दै स्थानीयले बाटो निर्माणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
श्यामबाबु आफ्ना दाजु रामबाबु र श्रीमतीसँगै रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा रामबाबुकी श्रीमती र उनको आमाबाबु मात्रै रहेको प्रहरीले जनाइएको छ।
दुबै बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
प्रकाशित: ६ जेष्ठ २०८२ २०:२९ मंगलबार