समाज

बसको ठक्कबाट बालिकाको मृत्यु

मोरङको रंगेली–कानेपाखरी भित्री सडक खण्डमा सोमबार दिउँसो यात्रुबहाक बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको बसले रंगेली नगरपालिका–७ निचामारी चोकमा सोही ठाउँकी १३ वर्षीया मीरा मण्डललाई ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको बसको ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी जोशीले बताए ।

बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

दुर्घटना लगत्तै स्थानीयले बसमा तोडफोड गर्दा अगाडिको सिसा फुटेको छ । दुर्घटना लगत्तै जम्मा भएको आक्रोशित भीड एक्कासि ढुंगामुढा र तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ।

बसभित्र १०/१५ जना यात्रु रहेको थिए । तोडफोड हुन थालेपछि चालकले यात्रुसहितको बसलाई भगाएर इलाका प्रहरी कार्यालय रंगेली लगेको र यात्रु कसैलाई चोटपटक नलागेको डिएसपी जोशीले बताए ।

इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ५ जेष्ठ २०८२ १८:५५ सोमबार