आन्तरिक पर्यटनमा पार्कको महत्वपूर्ण भूमिका छ। पर्यटन प्रवर्द्धन गर्न बनाइएका यस्ता पार्कमा आन्तरिक पर्यटकको भीड उल्लेख्य हुन्छ। दैनिक कामको तनाव र भीडभाडबाट मुक्ति पाउन मानिसहरू पार्क खोज्छन्।
पार्कले आम्दानी र रोजगारीको अवसर पनि सिर्जना गर्छन्। यसैलाई ध्यानमा राखेर राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधारअन्तर्गत पार्क निर्माण सुरु गरेको छ।
नेपाल सरकारको विशेष अनुदानमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आइतबार एक समारोहबीच पार्कको शिलान्यास गरे। पर्यटन डिभिजन कार्यालय कोहलपुरले ठेक्का व्यवस्थापन गरेको यो परियोजनाको कुल लागत एक करोड २५ लाख रुपैयाँ छ। ओसियन कन्स्ट्रक्सन कोहलपुरले ९० लाख १८ हजार नौ सय ४२ रुपैयाँ २३ पैसामा निर्माणको जिम्मा लिएको छ। यो पार्क आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
निर्माणपछि यो पार्कले स्थानीय पर्यटनमा महत्वपूर्ण योगदान दिने अपेक्षा छ। अध्यक्ष पौडेलले धार्मिक, कृषि र पूर्वाधार पर्यटनमा जोड दिइरहेको बताए। सोहीअनुसार पालिकामा पार्क, मठ मन्दिर निर्माण भइरहेको भन्दै उनले भने, ‘यहाँको आर्थिक स्थिति उकास्नलाई भए पनि पर्यटनमा लगानी गर्नुपर्ने छ ।’ यहाँ पर्यटकीय प्रचुर सम्भावना हुँदाहुँदै पनि सिर्जित फोहोर र भएका संरचनाहरूको संरक्षण र सौन्दर्यीकरण गर्न नसक्दा पर्यटक पुग्न नसेको उनी बताउँछन् ।
‘वर्षौंदेखि पर्यटन पूर्वाधार छन् । तर, फोहोर व्यवस्थापन नहुँदा आकर्षक छैनन्,’ उनले भने, ‘हामीले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा ति फोहोरलाई गिज्याइ रहेका छन् । वातावरणीय सौन्दर्यता खस्किँदै गएको छ ।’ हाम्रो सबै गतिविधि वातावरणीय सौन्दर्यतालाई ख्याल गर्ने गरी हुनुपर्ने भन्दै उनी भन्छन्, ‘राप्तीसोनारीमा पर्यटकीय गतिविधि सम्भव छन् । सबै हातेमालो गरी अगाडि बढौँ।’
राप्तीसोनारीमा भूवर भवानी, बर्फानी जस्ता पर्यटकीय क्षेत्र भए पनि स्थानीय बासिन्दा मनोरञ्जनका लागि चिसापानी, गाभर जस्ता ठाउँमा जान बाध्य छन्। ‘हाम्रा घरअगाडि पर्यटकीय क्षेत्र छन्, तर हामी बाहिर जान्छौं,’ उनले भने, ‘यसले हाम्रो पैसा बाहिरिएको छ। हामी यही पैसा रोकेर बाहिरी पर्यटक भित्र्याएर आम्दानी गर्ने योजना बनाउँदैछौं।’ यसका लागि सिक्टा सिँचाइ आयोजनाको बाँधस्थलमा बोटिङ निर्माणको योजना रहेको उनले बताए। पर्यटकीय गतिविधि बढ्दा आयस्रोत र क्षमता अभिवृद्धि हुने उनको विश्वास छ।
वडा नम्बर ३ का वडाध्यक्ष मिनकुमार चौधरीले यो पार्कले पर्यटनमैत्री वातावरण बनाउन सहयोग पुग्ने बताए। पर्यटकको संख्या बढ्दा रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ। पार्कमा कोसेली घर, दुईवटा झुला, लव साइन, हरियाली क्षेत्र, व्यायाम पार्क, प्रवेशद्वार र वृक्षारोपण गरिनेछ। साथै, भूवर भवानी मन्दिरमा मञ्च र चेन्जिङ रूम निर्माण गरिनेछ। निर्माणाधीन मन्दिरहरूको काम पनि सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ।
स्वच्छ, सफा र सुन्दर सहरका लागि सहरी पार्कको योगदान महत्वपूर्ण छ। पार्कको हरियाली र शुद्ध वातावरणले मानसिक शान्ति दिन्छ। खुला स्थानमा हल्का व्यायाम र हिँडडुलले शारीरिक स्वास्थ्यमा सुधार हुने अध्यक्ष पौडेलले बताए।
प्रकाशित: ५ जेष्ठ २०८२ १७:१३ सोमबार