समाज

गैरव्यवसायीक गतिविधि गर्ने पत्रकारलाई महासंघले कारबाही गर्ने

नेपाल पत्रकार महासंघ सिरहा शाखाले  पत्रकारिताको नाममा गैरव्यवसायीक गतिविधि गर्नेमाथि कारबाही गर्ने भएको छ।

सिरहामा पत्रकार र पत्रकारिताका नाममा गैर व्यावसायिक गतिविधि गर्नेहरूको संख्या बढेपछि नेपाल पत्रकार महासंघ, सिरहाले आइतबार सार्वजनिक सूचना जारी गर्दै कारबाही गर्ने बताएको हो।

पत्रकार भन्दै केही व्यक्तिहरू जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी कार्यालय, होटेल लगायतमा गएर धाक धम्की दिने, पैसाको बार्गेनिङ गर्ने, पत्रकार सम्मेलन गराइदिने भन्दै पीडितहरूसँग रकम असुली गर्ने गरेको गुनासो आएको महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले बताए ।

यसले सिङ्गो पत्रकारिता क्षेत्रकै छविमा आँच पुर्‍याइरहेकोले कारबाहीको  निम्ति अख्तियार गर्न बाध्य भएको उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०८२ १३:०६ आइतबार