शुक्रबार बिहान भरतपुर महानगरपालिका वडा नं २४ बालमैत्री वडा घोषणा हुँदै थियो। महानगरपालिकाका उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, उच्च तहका कर्मचारी तथा गाउँमा शिक्षित वर्ग एकै मञ्चमा थिए। एकाएक अप्रत्यासित दुःखद हल्ला फैलियो, ‘बुवाले नै छोरी र भतिजाको हत्या गरे।’
कार्यक्रमस्थलभन्दा एक किमि दूरीमा घटना भएपछि छिटोछिटो बालमैत्री वडा घोषणा गरियो। भरतपुर– २५ किसान चोकका ४२ वर्षीय लीलाराज गिरीले स्कुल हिँडेका सात वर्षीया प्रभा छोरी र दाइका पाँच वर्षीय छोरा सजनलाई कोठामा थुनेर हत्या गरेका हुन्। त्यसपछि आत्महत्याको प्रयास गरे।
नेपाल आर्मीबाट सेवा निवृतसमेत रहेका गिरीको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार गिरीले कोठामा थुनेर दुवैजनाको हत्या गरेका थिए।
शुक्रबार बिहान नौ बजेर ५५ मिनेट जाँदा खुर्पाले हानेर घाइते बनाएका थिए। कोठाभित्र थुनेर खुर्पाले हानी छोरी र भतिजालाई घाइते बनाएपछि उनले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पुरीले बताए।
गम्भीर घाइते भएका प्रभा र सजनको चितवन मेडिकल कलेजले मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीका अनुसार लीलाराजको घाँटीमा गहिरो चोट लागेको छ। उनको शुक्रबार नै शल्यक्रिया गरिएको छ। अहिले उनको अवस्था स्थिर रहेको प्रहरीले बताएको छ।
भरतपुर महानगरपालिका वडा नं २५ का वडाध्यक्ष छविलाल न्यौपानेका अनुसार लीलाराजका एक छोरा र एक छोरी, दाइका दुई छोरी र एक छोरा थिए। उनले नै नियमित छोराछोरीलाई तीन सय मिटर दूरीमा रहेको मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुलमा लैजाने–ल्याउने गर्दथे। त्यस दिन पनि स्कुल जानका लागि अंकलको घरमा गएका थिए। त्यतिबेला नै खुर्पाले रेटेर हत्या गरे। भाइलाई खुर्पाले रेटेर हत्या गरेको देखेर चिच्चाएकी छोरीलाई पनि लगत्तै हत्या गरेको न्यौपानेले बताए।
त्यस दिन उनकी श्रीमती छोरा बिरामी भएर उपचारका लागि पुरानो मेडिकल कलेजमा आएकी थिइन्। लीलाराजले डिप्रेसनको औषधि प्रयोग गर्ने गरेको अध्यक्ष न्यौपानेले बताए। ‘ऊ नेपाल आर्मीबाट रिटायर जमदार हो।
मोटरसाइकल दुर्घटनामा परेपछि घाइते भएका थिए। त्यसपछि दुई वर्ष घरमा बसेर पेन्सन पकाएपछि रिटायर भएका थिए’, उनले भने, ‘दुर्घटनापछि डिप्रेसनको औषधि खाने गरेको बुझेका छौं।’
घटनाको अघिल्लो दिन घरकासँग निहुँ खोज्ने काम गरेका थिए। गत वर्ष घर वरपरकाले मलाई मार्न लागेको भन्दै कसरा ब्यारेकमा पुगेको समेत उनले बताए। ‘औषधि सेवा गर्दा त ठिकै हुन्। कसैसँग अहिलेसम्म झगडा गरेको पनि सुनिएको थिएन’, अध्यक्ष न्यौपानेले भने, ‘ऊ सम्झाएर सम्झने अवस्थामै थिएन। अघिल्लो वर्ष मलाई मार्न लागे भन्दै कसरा ब्यारेकमा गएर दुई दिन बसेका थिए।’
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बालबालिकाको हत्या गर्नेलाई कडा कारबाही गर्नुपर्ने धारणा राखे। ‘हामी बालबालिका संरक्षणका लागि कटिबद्ध छौं’, उनले भने, ‘बालबालिकामाथि अपराध गर्नेहरूलाई अनुसन्धान गरेर कारबाही गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्दछौं।’
चितवनमा पछिल्ला वर्ष बालबालिका हत्याको घटना भएको थिएन। चालु आर्थिक वर्षमा यो नै पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।
भरतपुर महानगरपालिकाले बालमैत्री नगर घोषणा अभियानलाई प्राथमिकता दिएको छ। भरतपुरलाई आर्थिक वर्ष २०८३/०८४ मा पूर्ण बालमैत्री महानगर घोषणा गर्ने लक्ष्यका साथ वडाहरूलाई धमाधम बालमैत्री वडा घोषणा गरिरहेको छ।
२९ वटा वडा रहेको महानगरमा वडा नं १४, १३, २३, २१, ६, २४, २६, १५, १८ र १४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिसकेको छ। बालमैत्री महानगर बनाउने लक्ष्यमाथि यस्ता घटनाले चुनौती थपिने बाल अधिकारकर्मी बताउँछन्।
प्रकाशित: ४ जेष्ठ २०८२ १०:४३ आइतबार