दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बिचमा पर्ने ग्वारखोलामा पुल छैन। पुल नहुँदा बर्खामा आवतजावत ठप्प हुन्छ। रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो दाङको विजौरी हो।
बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनुपर्छ। तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ। ग्वारखोलामा पुल निर्माणका लागि चालु वर्षमा १ करोड ३० लाख बजेट परेको थियो। तर, त्यो बजेटअनुसार काम हुन सकेन। त्यहाँको बजेट अन्तै गयो।
‘अहिले बजेट आएको थियो, काम सुरु होला भन्ने थियो,’ स्थानीय प्रशान्त पुनले भने, ‘त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ।’ विसं २०७० मा सडकको ट्रयाक खोलिए पनि १२ वर्षसम्म पुल नबनेपछि स्थानीयले अहिले पुल निर्माण थालेका छन्। स्थानीयले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरेको उनले बताए।
‘वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन,’ पुनले भने, ‘वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ।’
सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए। ‘हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ,’ उनले भने, ‘सबैले सहयोग गरे काम सम्भव छ।’ स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई ज्याला दिएर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
सरकारले बाटो बनाए पनि पुल नबनाउँदा सास्ती खेप्नुपरेको उनको गुनासो छ। पुल नबन्दा ६ महिना सडक सञ्चालन हुने र ६ महिना ठप्प हुने अवस्था आएको पुनले बताए। रुकुमको चुनवाङसम्म जोड्ने सडकको स्तरवृद्धिका लागि सम्बन्धित निकायमा गए पनि सुनुवाइ नभएको विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताए। खोलामा सडक बनेमा तरकारी विजौरी बजारमा लैजान सकिने उनले बताए। सडक विस्तार भएमा व्यापारमा फाइदा पुग्ने उनको भनाइ छ। सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।
विजौरीबाट होलरीसम्म २९ किलोमिटर छ। त्यसमध्ये होलेरी क्षेत्रमा ५ किलोमिटर र विजौरी क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताए। ‘बिच मा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन,’ उनले भने, ‘त्यसले आवतजावतमा कठिनाइ हुने गरेको छ।’ रासस
प्रकाशित: ४ जेष्ठ २०८२ ०७:१३ आइतबार