म्याग्दे गाउँपालिका–५ का बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब दुई सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ। सङ्घीय सरकारको तीन करोड रुपैयाँ बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखिको पानीको समस्याबाट छुटकारा पाएका छन्।
स्थानीय पदममाया थापाले भने, ‘खानेपानीको मूल टाढा भएकाले पहिले एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्थ्यो।’ घरआँगनमै धारा जडान भएपछि ती दुखका दिन बिर्सिएको उनको भनाइ छ। खानेपानीको समस्या हटेपछि घरधन्दा र अन्य काम गर्न सहज भएको वडाकी राधाकुमारी थापाले बताइन्।
उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाका अनुसार आयोजनाअन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कलन गर्न तीनवटा ट्याङ्की बनाइएको छ। तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका छन्। आयोजना सम्पन्न भएसँगै करिब नौ सय जना प्रत्यक्ष लाभान्वित भएका छन्।
वडा नं ५ का अध्यक्ष शिवबहादुर आलेले २४ सै घण्टा धारामा पानी आउने सुविधाले स्थानीयको दैनिकी बदलेको बताए। उनले भने, ‘अब खाली समय कृषिमा प्रयोग हुन थालेको छ, जसले आम्दानी बढाउन सहयोग गरेको छ।’ पहिले महिलाको धेरै समय पानी बोक्नमै बित्थ्यो, तर अहिले उनीहरू घर र व्यवसायमा सक्रिय भएका छन्।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र बनाइएको बताए। उनले भने, ‘खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम भइरहेको छ।’ रासस
प्रकाशित: ३ जेष्ठ २०८२ ०७:१५ शनिबार