काठमाडौंको वनस्थलीस्थित एक वर्कसपबाट चोरी भएको विद्युतीय माइक्रो बस धादिङबाट बरामद गरिएको छ। उक्त चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक १९ वर्षीय युवकलाई सवारीसाधनसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा स्याङ्जा, बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६, वनस्थली बस्ने १९ वर्षीय सुदिप थापा रहेका छन्।
थापाले गत वैशाख २९ गते बिहान करिब साढे ४ बजे काठमाडौं महानगरपालिका–१६, वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्र पार्किङ गरी राखेको बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रो बस चोरी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापाले उक्त माइक्रो बस चोरी गरी चलाएर धादिङ पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय, धादिङ समेतको समन्वयमा उनलाई उक्त सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका थापाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ जेष्ठ २०८२ १९:२७ बिहीबार