समाज

विवाह ‘एक’ रुपैयाँको, माया ‘करोड’को

दुलाहा भन्छन्–हामीले फूल किन चुँड्ने भनेर माला पनि लगाएनौँ । फूलजस्तै हाम्रो माया फक्रिने छ।

दुलही भन्छिन्– गाउँघरमा विवाह पछि परिवारले भोग्नु परेको आर्थिक अभाव राम्ररी बुझेकी  छु । त्यसैले मलाई सुनका तिलहरीले लोभ्याएन । 

सिन्दूर  घरैबाट ल्याएको, पोते भाउजूसँग मागेको, माला मन्दिरमै भेटेको, गुरुलाई दक्षिणा रुपैयाँ १(एक) मात्र,’ नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सञ्जय गौतम र रिमला बस्नेतको मितव्ययी विवाहको चर्चा गर्दै  सामाजिक सञ्जालमा मनोज गजुरेल लेख्छन्, ‘यस्तो मितव्ययी विवाहको बारेमा तपाईँको विचार के छ ?’ 

‘माया करोडको’, गजुरेलकै  करोड भन्ने शैलीमा  सामाजिक सञ्जालमा वसन्त पराजुली लेख्छन्, ‘फजुल खर्च रोकेर गरिने यस्ता विवाहले समाजलाई समृद्धितर्फ लैजान्छ ।’ 

उपत्यका प्रहरीको समाचार कक्षमा कार्यरत असई सञ्जय गौतम र लक्की बस्नेत(रिमला)  मितव्ययी विवाहको सामाजिक सञ्जालमा निकै चर्चा छ । 

पर्वत राम्जा घर भएका गौतमले ह्यान्डबल खेलाडी लक्कीसँग प्रेम विवाह गरेका हुन् । ‘करिब एक वर्षदेखि हामी प्रेममा थियौँ,’ गौतमले भने, ‘मनका कुरा मिले मङ्गलवार  वैवाहिक सम्बन्धमा गासियाैँ ।’ कोटेश्वरस्थित एक मन्दिरमा भएको विवाहमा सिन्दूर घरबाट लिएर गएको अनि पण्डितलाई एक रुपैयाँ दक्षिणा दिएको उनले सुनाए । ‘हामीले फूल किन चुँड्ने भनेर माला पनि लगाएनौँ,’ उनले भने, ‘फूलजस्तै हाम्रो माया फक्रिने छ ।’ 

आफ्नो सादा विवाहको बारेमा पनि कतिपय नराम्रा कमेन्ट आएपछि उनी केही दिक्क पनि छन् । ‘हामीले कसैलाई देखाउन हैन, साँच्चिकै मितव्ययी हुन यसो गरेका हौँ,’ उनले भने, ‘यसमा फोटोका, कपडाका र भोजका कुरा जोड्दा हामीलाई नरमाइलो लागेको छ ।’ 

 उनीसँग विवाह गर्न पाएकोमा लक्की आफूलाई भाग्यमानी ठान्छिन् । ‘मैले खोजेजस्तो केटा पाएको महसुस भएको  छ,’ उनले भनिन्, ‘त्यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु ।’  गाउँघरमा विवाहपछि परिवारले भोग्नु परेको आर्थिक अभाव राम्ररी बुझेकी उनले त्यो पिडा कसैलाई पनि नपरोस् भन्ने आफ्नो चाहना रहेको सुनाइन् । 

‘रिन धन गरेर विवाह  त गर्छन्,’  उनले भनिन्, ‘तर परिवार जिन्दगीभर किस्ता बुझाउँदैमा समस्यामा पर्छ ।’ माया आफैमा अमूल्य हुने बताउँदै उनले फजुल खर्च रोक्नु पर्ने सुझाइन् । ‘हाम्रो  विवाह एक रुपैयाँको हो,’ उनले भनिन्, ‘तर हामीबिचको माया अनमोल छ ।’ 

सम्भवतः नेपालकै मितव्ययी विवाह गरेका छन् । यो नौलो प्रयोगले धेरैलाई उत्प्रेरित बनाओस् । वैवाहिक समारोहमा हुने तडक–भडक र फजुल खर्चको चलन पनि घटोस् । सुखद दाम्पत्य जीवनको मंगलमय कामना ।

विशाल क्षेत्री भन्छन्, ‘विवाह जतिसुकै सस्तो भए पनि सम्बन्ध कहिल्यै सस्तो नबनोस् वैवाहिक जीवनको दुवै जनालाई शुभकामना!’

प्रकाशित: ३१ वैशाख २०८२ १८:४४ बुधबार

#Cheap Wedding #Loving Couple