समाज

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी पुर्जा

पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले प्रयोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जा पाएका छन्।

पहिले देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडको नाममा गल्तीले नापी भएकोले स्थानीयले पुर्जा बनाउन सकेका थिएनन्। नापीमा अर्काको नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पुर्जा पाउन सकेका थिएनन्।

‘आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नुपर्‍यो,’ स्थानीय रामबहादुर दनुवारले भने। उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफलको जग्गाको पुर्जा लिए।

लालपूर्जा नभएकाहरूका लागि स्थानीय अगुवाले वर्षौँदेखि पुर्जा दिलाउन प्रयास गरेका थिए। नगरप्रमुख खरेलले २६ परिवारलाई पुर्जा वितरण गरेका हुन्। खाँडको नाममा दर्ता भएको उक्त जग्गामध्ये हाल करिब २७ रोपनीको पुर्जा बनाएर वितरण गरिएको उनले बताए।

‘पहिलो चरणमा बनेको पुर्जा २६ जना जग्गाधनीलाई दिइयो, बाँकी जग्गाको पुर्जा बनाउने प्रक्रिया जिल्ला मालपोत कार्यालयमा अन्तिम चरणमा छ,’ उनले भने। रासस

प्रकाशित: ३१ वैशाख २०८२ १०:०६ बुधबार