काठेखोला गाउँपालिका स्थापना भएको नौ वर्षसम्म भाडाकै घरमा छ। बागलुङका १० स्थानीय तहमध्ये जग्गाको टुङ्गो नलागेको यो गाउँपालिकाले भाडाको घरबाट सेवा दिँदै आएको छ। मासिक ६० हजारका दरले भाडा तिर्दै आएको पालिकाले स्थापनादेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ।
लामो समयसम्म आफ्नै भवन नबन्दा स्थानीयले गाउँपालिकाप्रति प्रश्न उठाउँदै आएका छन्। जिल्लाका सात पालिकाको आफ्नै भवन छ भने दुई पालिकाको भवन निर्माणाधीन छ। तर काठेखोला गाउँपालिकाले स्थापनादेखि प्रशासकीय भवनका लागि जग्गा खोजे पनि हालसम्म टुङ्गो लगाउन सकेको छैन।
गाउँपालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि भवन नबनाउनु दुखद भएको काठेखोला–२ अछेतेका गणेशबहादुर भण्डारीले बताए। उनले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो नलागेको बताए।
‘जबसम्म गाउँपालिकाले पायक पर्ने ठाउँमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा पनि काठेखोला भाडाकै घरमा छ,’ भण्डारीले भने, ‘गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कसले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्छ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ।’
गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन छ। गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ। काठेखोलाको प्रशासकीय केन्द्रको विवाद सात वर्षपछि टुङ्गिए पनि पुनः मुद्दा परेर विवाद बढेको छ।
नौ वर्षदेखि प्रशासकीय भवन निर्माणबारे कार्यपालिका बैठकमा धेरै छलफल भए पनि निष्कर्ष निस्किएको छैन। अघिल्लो कार्यपालिका बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन बनाउने निर्णय गरेको थियो। सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर १ करोड रुपैयाँ विनियोजन गरे पनि स्थानीयले सामुदायिक वनमा भवन बनाउन रोकेको गाउँपालिका अध्यक्ष राजु थापाले बताए।
बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगामी आर्थिक वर्षमा भाडा तिर्न नपर्ने गरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए। भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि सेवा दिने गरी अहिले भवन फर्निसिङको काम भइरहेको छ। बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्यभन्दा सुगम छ। दुर्गम पालिकाहरूले आफ्नै भवन बनाएर काम थाले पनि काठेखोलाले जग्गा र भवनको टुङ्गो लगाउन सकेको छैन।
केही स्थानीयले सुलडाँडा र केहीले अछेतेमा केन्द्र राख्ने विषयमा विवाद छ। वडा नं १, २, ३ र ४ ले अछेते र वडा नं ५, ६, ७ र ८ ले सुलडाँडामै प्रशासकीय भवन बनाउने अडान राख्दा भवन निर्माणमा ढिलाइ भएको छ। रासस
प्रकाशित: २९ वैशाख २०८२ ०६:३७ सोमबार