गत बुधबार सशस्त्र प्रहरी हवलदारले चलाएका मोटरसाइकलले ठक्कर दिएकामध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सशस्त्र प्रहरीसहित तीन जना घाइते भएकामा एक जनाको उपचारकै क्रममा गए राति मृत्यु भएको हो।
रौतहटको कटहरिया नगरपालिकास्थित बकैया नदीको पुलनजिक तस्करहरूलाई पर्खेर बसेका सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी सहायक हवलदार सुबास सिंहले एक जना तस्करलाई लखेट्दै जाँदा विपरीत दिशाबाट आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसित ठक्कर खाएको थियो। भाग्दै गरेका तस्कर, सशस्त्र प्रहरी सहायक हवलदार सिंह र विपरीत दिशाबाट आएको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकापसमा ठक्कर खाएपछि हवलदार सिंह र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।
सशस्त्र प्रहरी हवलदार सिंहले चलाएको बा ८४ प ७३८३, सामान ओसार्न प्रयोग गरिएको ग ४ प ४०७३ तथा विपरीत दिशाबाट बिआर ३० पि ७९३६ नम्बरका मोटरसाइकलहरू एकापसमा ठोक्किन पुग्दा हवलदार सिंहका साथै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहाका करिब ३५ वर्षका दिलिपकुमार साह र ४८ वर्षका अनुठा यादव घाइते भएका थिए। घाइते दुई जनामध्ये ४८ वर्षीय यादवको गए राति उपचारका क्रममा मृत्यु भएको हो।
अर्का घाइते साह र हवलदार सिंहको उपचार भने भइरहेको प्रहरीले जनाएको छ।
संचार शाखामा दरबन्दी रहे पनि घुमुवाको रूपमा बकैया पुलमा मोटरसाइकल लिएर पुगेका सशस्त्र प्रहरी हवलदार सिंहले भारतबाट सामान ल्याएको आशंकामा एक जनालाई लखेट्दै जाँदा दुर्घटना भएको थियो। दुर्घटनापछि स्थानीयको सशस्त्र प्रहरीसित झडप पनि भएको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय कटहरियालाई घेराउ गर्दै कारबाहीको माग गरेका थिए।
दुर्घटनाका गम्भीर घाइते यादवको मृत्यु भएपछि सांसद तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले घटनाका दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने बताएका छन्।
प्रकाशित: २६ वैशाख २०८२ १३:०३ शुक्रबार