पहिला झाडीले ढाकिएको बाघ लुक्ने स्थान अहिले जैविक मल उत्पादन केन्द्र बनेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासका महिलाले वनको झाडी र खेर जाने पातपतिंगरबाट जैविक मल उत्पादन गरिरहेका छन्। विनयी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा जैविक मल उत्पादन सुरु भएपछि गाउँमा वातावरणीय सुधारसँगै महिलाको आर्थिक स्तर पनि सुदुढ बन्दै गएको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ की जसमती ढेंगा मगरलाई अहिले फुर्सद छैन। उनी दैनिक पातपतिंगर संकलन गर्नमै व्यस्त हुन्छिन्। पातपतिंगरबाट दैनिक एक हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् उनले। ‘विगतमा खेतीपाती गरेर घरखर्च चलाउँदै आएकी थिएँ। हामी त काम गरेर खाने मान्छे,’ दुईवटा पलातिनी समेत देखेकी ढेंगा मगरले भनिन्, ‘हिजोआज फुर्सद हुँदाबित्तिकै झाडी फाँड्न र पातपतिंगर संकलन गर्न जाने गरेकी छु। आम्दानी पनि राम्रै छ। अहिले पैसाका लागि अरूसँग हात थाप्न परेको छैन।’
गाउँका अन्य महिला पनि उत्साहित छन्। दुम्कीबासकी कल्पना पौडेल आफ्नै ठाउँमा जैविक मल उत्पादन केन्द्र स्थापना भएपछि घरखर्च चलाउन सहज भएको बताउँछिन्। ‘कोरोनापछि झाडी फाँडेर मल बनाउने काम गर्न थालेका हौं। अहिले समय गएको पनि थाहा छैन,’ उनले भनिन्, ‘झाडी फाँड्ने समयमा निस्कने दाउरा घरमा ल्याउन पाइन्छ। बस्तुभाउलाई घाँस पनि भयो आम्दानी पनि दैनिक रूपमा आठ सय रूपैयाँसम्म हुन्छ।’ पौडेलले छोरालाई भरतपुरमा पढाउँदै आएकी छन्।
स्याउला, घाँसपात, पतिंगरको प्रयोग गरी ‘विनयी जैविक मल उत्पादन उद्योग’बाट २०७९ सालदेखि नियमित रूपमा जैविक मल उत्पादन गरिँदै आएको छ। गाउँपालिकाको सहयोगमा जैविक मल उत्पादन गरी बिक्री गर्न थालिएको सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले जानकारी दिइन्। उनका अनुसार प्रत्येक वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ।
अहिले सिजनको समयमा महिलाले एक हजार पाँच सय रूपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताइन्। एक किले पातको वनले दुई रुपैयाँ दिँदै आएको छ। फुर्सदको सदुपयोग गर्दै महिलाले उद्योगलाई समय दिन थालेको उनले बताइन्। उनका अनुसार यही उद्योगका कारण ८० जनाले रोजगारी पाएका छन्।
उद्योगमा नियमित काम गर्ने कर्मचारी २० जना रहेको उनले बताइन्। ‘विनयी त्रिवेणी सामुदायिक वनका दुई सय १४ घरधुरीमध्ये १७ घरधुरी अति विपन्नमा पर्छन्,’ उनले भनिन्। उद्योगमा १२ महिनै काम भए पनि विशेष गरी असोजदेखि फागुनसम्म झाडी फाँड्ने र पातपतिंगर संकलन गरिन्छ। जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयुले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन्।
विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको अध्यक्ष पुरीले बताइन्। उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकिलो २० रूपैयाँ र बाहिर २५ रूपैयाँका दरले बिक्री गरिन्छ। त्यहाँका किसानले जैविक मल प्रयोग गर्दै आएका छन्। अहिले मलको माग धान्न कठिन भएको उनले बताइन्।
कसरी सुरु भयो अभियान
दुम्कीबास बाघ आवतजावत गर्ने क्षेत्र हो। चार वर्षअघि वन हेरालुलाई बाघले खाइदियो। बहुलवन, सिस्नेरी, घुम्ती क्षेत्रका बालबालिकालाई सामुदायिक वन कटेर दुम्कीबासमा आउनुपर्ने बाध्यता भएकाले सामुदायिक वनले बाघ लुक्ने झाडी फाँड्ने अभियान चलायो। झाडीबाट निस्किएको पातपतिंगरसमेतलाई सदुपयोग गरी जैविक मल उत्पादन गर्न थालिएको संस्थाकी व्यवस्थापक मीना पौडेलले बताइन्।
‘जंगली जनावार बढेको अवस्थामा झाडी फाँडेर थुपारियो। त्यो कुहिएर मल भई झन् बाक्लो झाँडी हुन थाल्यो। त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर विभिन्न चरणमा सामुदायिक वन समितिमा छलफल गर्दा जैविक मल बनाउने निष्कर्ष निकालियो,’ उनले भनिन्।
बहुसरोकार वन कार्यक्रममार्फत २०७३ सालमा जैविक मल बनाउने तालिम प्रदान गरिएको थियो। सुरुका वर्ष महिला दिदीबहिनीले जैविक मल उत्पादन गरे। चितवनलगायतका जिल्लामा त्यो मल पुग्यो। तर व्यवासयीले मलको पैसा नदिएपछि उत्पादन बन्द भयो।
कोरोनाकालमा गाउँपालिका र वन कार्यालयको सहकार्यमा पुनः उद्योग सञ्चालन गर्न थालेको उनले बताइन्। संकलित पातपतिंगरलाई मेसिनमा राखेर टुक्राइन्छ। त्यसमा आवश्यक मात्रामा पानी हालिन्छ। करिब ९० दिनभित्र गुणस्तरको जैविक मल तयार हुन्छ। उत्पादित जैविक मल गुणस्तरीय रहेको वातावरण नेपाल वायु रिसर्च सेन्टरका संस्थापक अरूण लामा बताउँछन्। ‘जैविक मललाई रासायनिक मलको विकल्पका रूपमा हामीले हेरेका छौं,’ उनले भने, ‘प्रांगारिक वस्तुलाई एन्टिबायोटिक दिएर जैविक मल बनाइन्छ। यसले माटोमा समेत सुधार ल्याउँछ।’
उनले यसरी बनाइएको मल गाईको मलभन्दा पनि राम्रो हुने बताए। ‘नेपालमा जैविक मलको प्रयोग एकदम कम छ,’ उनले भने, ‘विदेशमा रासायनिक मलभन्दा जैविक मल बढी प्रयोग हुन्छ।’
नेपालमा माटो बिग्रिएका कारण एक कट्ठा खेतीयोग्य जमिनमा सात टन मल आवश्यक पर्ने उनले बताए। नेपालको ४० प्रतिशत खेतीयोग्य जनिको माटो बिग्रिएको उनले बताए। गाउँपालिकाले मल संकलन गर्न ५ लाख बजेट विनियोजन गरेको छ। विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी भन्छन्, ‘गाउँपालिकाभित्र ४१ सामुदायिक वन, दुई धार्मिक वन र दुई मध्यवर्ती वन छन्, यी सबैलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा छौं।’
पालिकाका नौ हजार ६७६ घरधुरीमध्ये ५ हजार सामुदायिक वनसँग जोडिएका छन्। उनले वन प्रवेश गर्नेहरूका लागि बिमा अनिवार्य बनाउने गृहकार्य भइरहेको बताए।
प्रकाशित: २१ वैशाख २०८२ ०७:०७ आइतबार