मकवानपुरगढी गाउँपालिका–७, सुकौरामा रुखले च्यापिँदा एक युवकको ज्यान गएको छ।
मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई हाल सुकौरामा डेरा गरेर बस्दै आएका ३१ वर्षीय राम राईको बिहीबार दिउँसो रुख ढाल्ने क्रममा च्यापिँदा मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी गाउँघरमा पाए जतिका काम गर्दै हिँड्थे। सोही क्रममा उनी रामबहादुर मोत्तानको बारीमा रुख काट्ने काम गरिरहेका थिए।
दिउँसो करिब १२:३० बजेतिर आफैंले काटेको रुखले च्यापिएर गम्भीर घाइते भएका उनलाई साथी सुजन राईले २:३० बजे मकवानपुर सहकारी अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा २:४३ बजे उनको निधन भयो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ वैशाख २०८२ १८:२५ बिहीबार