नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्य नहुने भन्दै आन्दोलनलाई निरन्तरता दिने र आजै नयाँ कार्यक्रम घोषणा गर्ने बताएका छन्।
शिक्षक महासंघले कर्मचारीका मागलाई बेवास्ता गरी एकतर्फी सम्झौता गरेको आरोप लगाउँदै तिवारीले विद्यालय कर्मचारीका हकहितविपरीत भएको सहमति खारेज गर्न माग गरे।
मध्यबानेश्वरस्थित रत्नराज्य स्कूलमा बिहीबार आयोजित भेलामा सम्झौताबारे छलफल गर्ने क्रममा कर्मचारी र शिक्षक नेतृत्वबीच तनाव उत्पन्न भएको थियो।
परिषद्का अध्यक्ष तिवारीले शिक्षक महासंघका पदाधिकारीले कर्मचारीका मागलाई सम्बोधन नगरेको र राजनीतिक दलका नेताको प्रभावमा परेर सम्झौता गरेको आरोप लगाए।
“आठ हजार तलब खाने कर्मचारीको पीडा महासंघलाई कहाँ थाहा ? सञ्चित बिरामी बिदाको सुविधा पनि दिइएन। यो सम्झौता हामीलाई मान्य छैन,” तिवारीले भने।
उनले सरकारले विधेयक ल्याउने आश्वासन दिएर कर्मचारीलाई अल्मल्याउन खोजेको दाबी गरे। “हामीले ऐन ल्याएर मात्र आन्दोलन रोक्ने भनेका थियौं। तर, असार १५ सम्मको समय दिएर आन्दोलन फिर्ता गरियो। ऐन आउने कुनै आधार छैन। हाम्रो आन्दोलन जारी रहन्छ,” तिवारीले थपे।
परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै महासंघ र सरकारबीच भएको सम्झौता र आन्दोलन फिर्ताको निर्णयप्रति पूर्ण असहमति समेत जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “कर्मचारी परिषद्को धारणाविपरीत भएको सहमतिको घोर भर्त्सना गर्छौं। थप कार्यक्रम समीक्षा बैठकपछि सार्वजनिक गर्छौं।”
प्रकाशित: १८ वैशाख २०८२ १५:४४ बिहीबार