सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ।
मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको शिक्षामन्त्री रघुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। यससँगै बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सुरु हुने भएको छ।
“२९ दिनदेखि जारी आन्दोलन सहमतिपछि फिर्ता भएको छ। भोलिबाट विद्यार्थी भर्ना र पठनपाठन सहज रूपमा अघि बढ्छ,” मन्त्री पन्तले भने।
सहमतिमा विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने, शिक्षक–कर्मचारीलाई स्वास्थ्य उपचारमा छुट दिनेलगायत प्रावधान समावेश छन्। सहमति कार्यान्वयनका लागि सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले बताए।
प्रकाशित: १७ वैशाख २०८२ २१:०४ बुधबार