सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न जारी गरिएको अनधिकृत पत्र प्रकरणमा कारबाही प्रक्रिया सुरु गरेको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार विज्ञप्ति जारी गर्दै पत्र लेख्ने शाखा अधिकृतमाथि कानुनी कारबाही अघि बढाइएको जानकारी दिए।
“मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृतले २०८२/०१/१७ मा डिल्लीबजार कारागारलाई लेखिएको पत्र (च.नं. १९२७७) अनधिकृत रहेकोले उक्त पत्र कार्यान्वयन नगर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ। पत्र लेख्ने अधिकृतमाथि कानूनबमोजिम कारबाही प्रक्रिया सुरु गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। उक्त पत्रका आधारमा प्रहरीले बुधबार कमलादीबाट चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो।
अनधिकृत पत्रका कारण भएको यो पक्राउले राजनीतिक र कानुनी वृत्तमा तरंग ल्याएको छ भने सर्वोच्चभित्रै पत्रको वैधानिकताबारे हंगामा भएको छ।
सर्वोच्चले उक्त पत्र कुनै न्यायिक आदेशबिना जारी भएको स्पष्ट गर्दै तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ। यो प्रकरणले सर्वोच्चको आन्तरिक कार्यप्रणालीमाथि समेत प्रश्न उठाएको छ।
प्रकाशित: १७ वैशाख २०८२ १६:४३ बुधबार