समाज

सरकारसँग वार्ता गर्न सिंहदरबारमा शिक्षक

नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सरकारसँग वार्ताका लागि बुधबार दिउँसो सिंहदरबार प्रवेश गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केहीबेरमा सुरु हुने वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ। मंगलबार रातिको वार्ता सकारात्मक भएकाले महासंघले प्रस्ताव गरेको ९ बुँदे मागमा सहमति जुट्ने विश्वास व्यक्त गरिएको छ।

सत्ता गठबन्धनले पनि बुधबारै सहमति हुने दाबी गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वार्ता सकारात्मक दिशामा अघि बढेको र बुधबारभित्र सहमति हुने बताए।

उनले बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन सहज रूपमा सुचारु हुने विश्वास व्यक्त गरे।

शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन जारी राख्दै वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएको छ। यसअघि विभिन्न तहमा भएका वार्ताहरू निष्कर्षविहीन बनेका थिए।

महासंघ र सरकारबीच सहमति भएमा बिहीबारदेखि शिक्षकहरू विद्यालय फर्कने र शैक्षिक वातावरण सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १५:१३ बुधबार