तनहुँको दमौलीस्थित सत्यवती माविले केहीदिनदेखि अनौपचारिक रुपमा मात्र विद्यालय संचालन गरिरहेको छ। शिक्षक आन्दोलनसँगै सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएपछि नियमित पठनपाठन कहिलेबाट सुरु हुने भन्ने टुंगो नै छैन। तर, सत्यवतीले विद्यालयका विद्यार्थीलाई भुलाउनकै लागि भएपनि अनौपचारिक कक्षा संचालन गरिरहेको छ।
विद्यालयका अनुसार ब्यास नगरपालिकाले वैशाख ५ सम्म भर्ना अभियान संचालन गर्ने र ७ गतेदेखि नियमित कक्षा संचालन गर्ने भनेर समय तोकिदिएको थियो। तर शिक्षक आन्दोलनका कारण भर्ना अभियान पनि संचालन हुन सकेको छैन। शिक्षक आन्दोलनका कारण अभिभावक र विद्यार्थी अन्योलमा परेपछि अनौपचारिक रुपमा भएपनि विद्यालय संचालन गरेको विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिईन। शिक्षक आन्दोलनका कारण यो पटक भर्ना अभियान नै हुन नपाएको उनले बताईन।
‘औपचारिक पठनपाठन सुरु भएको छैन। अहिलेका लागि अनौपचारिक कक्षा मात्र संचालन गरिएको हो। विद्यार्थीलाई भुलाउने मेसो मात्र बनेको छ,’ उनले भनिन, ‘विद्यालयका शिक्षकहरु आलोपालो गरेर आन्दोलनमा सहभागि हुनुहुन्छ। घरमा रहेका विद्यार्थीलाई विद्यालय बोलाएर अनौपचारिक शिक्षा मात्र दिएका छौ। औपचारिक रुपमा पाठ्यक्रम पढाएका छैनौ। औपचारिक कक्षाका लागि सबै विद्यार्थी कुरिरहेका छौ।’
सत्यवतीमा अघिल्लो शैक्षिकसत्रमा २ हजार ५ सय ५९ जना विद्यार्थी अध्ययनरत थिए। तर, अहिले कति विद्यार्थी भर्ना भए भन्ने यकिन पनि छैन। केहीदिन अघिदेखि अनौपचारिक रुपमा संचालनमा आएको विद्यालयमा अहिले करिब ४ सय विद्यार्थी आईरहेको उनले बताईन। उनीहरुले पाठ्यक्रम नपढि अनौपचारिक शिक्षा मात्र लिएको प्रअ भट्टराईले बताईन।
‘शिक्षकहरु आन्दोलनमा छौ। आन्दोलनमा सहभागि हुन शिक्षकहरुले आलोपालो बाँडेका छौ। तर यता विद्यार्थी र अभिभावक पनि अन्योलमा परेपछि अनौपचारिक रुपमा विद्यार्थीलाई सिकाई प्रक्रियामा सहभागि गराउने भनेर वैकल्पिक उपाय लगाएका हौ,’ उनले भनिन, ‘सदरमुकामको विद्यालय भएकोले विद्यार्थी अन्यत्र जाने पनि सम्भावना रहन्छ। विद्यार्थीलाई बेलैमा रोक्ने चूनौती रहेपछि अनौपचारिक कक्षा संचालन गरेका हौ।’
उनका अनुसार पालो बाँडेर शिक्षकहरु आन्दोलनमा सहभागि हुने गरेका छन्। विद्यालयमै रहेका शिक्षकले विद्यार्थीलाई बोलाएर भुलाउने गरिएको हो।
‘कतिपय अभिभावक काममा जानै पर्ने बाध्यता हुँदा उनीहरुका बालबालिका अप्ठेरोमा परे। ती बालबालिकालाई पनि हामीले ध्यान दिएर विद्यालय बोलाएका छौंं,’ उनले भनिन्, ‘अभिभावक काममा जानुपर्दा बालबालिकालाई घरभित्र थुनेर राख्नुपर्ने बाध्यता रह्यो। उनीहरुलाई विद्यालयमा बोलाएर भुलाउन मात्र खोजेका हौ।’
पोखराको सामुदायिक मध्येको अब्बल शितलादेवीमा माविमा चैत २७ गते नै प्रवेशपरीक्षा लिइएको थियो। प्रवेशपरीक्षामा उत्तिर्ण भएका केही विद्यार्थी भर्ना भईसकेका छन्। प्रवेश परीक्षामा उत्तिर्ण भएका तर भर्ना हुन नपाएका विद्यार्थी सम्पर्कमा रहेको प्रधानाध्यापक बाबुराम अधिकारी बताए। ‘प्रवेश परीक्षामा उत्तिर्ण भएकामध्ये केही विद्यार्थी भर्ना भइसकेका छन। भर्ना हुन नपाएका अरु विद्यार्थी विद्यालय खुल्ने समय कुरेर बसिरहेका छन,’ उनले भने, ‘पुराना विद्यार्थी यतास्थितिमै छन। विद्यालयको नियमित सम्पर्कमा रहकोले खासै समस्या छैन।’
अधिकारीका अनुसार पोखरामा वैशाख १ गतेबाट भर्ना अभियान सुरु गर्ने भनेर पोखरा महानगरपालिकाले शैक्षिक क्यालेन्डर बनाएको थियो। त्यही शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेबाट विद्यालय संचालन गर्ने भनिएपनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान सुरु नै हुन नपाई सकिएको अधिकारीले बताए।
‘यो वर्ष भर्ना अभियान भन्ने नै रहेन। पोखराका केही सामुदायिक बाहेक अरुलाई विद्यार्थीको समस्या हुँदैन। अब्बल विद्यालयका विद्यार्थी अन्यत्र जाँदैनन,’ उनले भने। पोखराको शितलादेवीमा अघिल्लो वर्ष १ हजार ३ सय २३ जना विद्यार्थी अध्ययनरत थिए। आन्दोलनका बीचमा शैक्षिक गतिविधि संचालन गर्दा केही समस्या होला भनेर सुरु नगरेको प्रअ अधिकारीले बताए। ‘हामी विद्यार्थी कुरेर बसिरहेका छौं,’ उनले भने।
पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार सरकारले यो वर्ष वैशाख २ देखि १५ गतेसम्मका लागि विद्यालय भर्ना अभियान भनेर तोकेको थियो। तर, शिक्षक आन्दोलनक कारण भर्ना अभियान भने हुन नपाएको उनले बताए।
‘भर्ना अभियान संचालन गर्न नपाएपनि धेरै विद्यार्थीले आफ्नै तरिकाले भर्ना गरेका छन। आन्दोलनसँगै शिक्षक, अभिभावक र विद्यार्थी सबै चिन्तित छन,’ आचार्यले भने, ‘भर्ना अभियान ढिला भयो भनेर चिन्ता नै जनाउनुपर्ने अवस्था होइन। तर, पठनपाठन कहिलेबाट सुरु हुने भन्ने अन्योलले गर्दा समस्या भएको हो।’
उनका अनुसार पोखराका धेरै सामुदायिक विद्यालयले भित्रभित्रै विद्यार्थी भर्ना गरिरहेका छन। कतिपयले त पठनपाठन पनि सुरु गरेका छन्।
हिमालपारिका जिल्लाको शैक्षिक अवस्थामा पनि भर्ना अभियान बिना नै सकिएको छ। शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख रामेश्वर लामिछानेका अनुसार वैशाख पहिलो साता भर्ना अभियान संचालन गर्ने तालिका थियो। तर, शिक्षक आन्दोलनका कारण यो पटक भर्ना अभियान नै हुन सकेन। ‘वैशाख पहिलो साता सुरु भएको भर्ना अभियान ढिलोमा दोश्रो सातासम्म लम्बिन्थ्यो। तर, शिक्षक आन्दोलनका कारण भर्ना अभियान संचालन हुन सकेन,’ लामिछानेले भने। उनका अनुसार मुस्ताङका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना पनि भएका छैनन।
‘संस्थागत विद्यालयमा भर्ना भएका बालबालिका विद्यालय गईरहेका छन्। तर, सामुदायिक विद्यालयमा भने भर्नाको कुनै टुंगो छैन। पठनपाठन पनि सुरु भएको छैन,’ उनले भने। उनका अनुसार मुस्ताङमा ३५ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालय छन्। ती विद्यालयमा सबैगरि ३७ सय विद्यार्थी अध्ययनरत छन्।
प्रकाशित: १७ वैशाख २०८२ १३:२० बुधबार