समाज

नक्खुमा जस्ताको टहराभित्र घरेलु मदिरा उत्पादन, प्रहरीले नष्ट गर्‍यो

ललितपुर महानगरपालिका-२५ नक्खु खोला किनारमा जस्ताको टहरो बनाएर बस्ने केही व्यक्तिले अवैध रूपमा उत्पादन र बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

नक्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिएर अवैध मदिरा बनाइँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैंसेपाटी बुङ्मतीको टोलीले खानतलासी गर्दा ठूलो परिमाणमा अवैध मदिरा फेला परेको थियो।

मङ्गलबार गरिएको खानतलासीमा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ।

अखाद्य पदार्थबाट बनेको मदिरा सेवनले स्वास्थ्यमा हानि पुग्ने र यो गैरकानुनी भएकाले नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले बताए। उनका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भएकी रविना तमाङसहित नक्खुमा बसेर अवैध मदिरा उत्पादन र बिक्री गर्ने अन्यलाई गैरकानुनी गतिविधि नगर्न सचेत गराइएको छ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न हामी खटिरहेका छौं,’ प्रहरी निरीक्षक शर्माले भने, ‘समाजमा अशान्ति निम्त्याउने गतिविधि रोक्न हामी प्रतिबद्ध छौं।’ रासस

प्रकाशित: १७ वैशाख २०८२ ११:४८ बुधबार