समाज

पोखरा महानगर भन्छः सर्वाेच्चको आदेश अनुसार बुधबारसम्म विद्यालय खोल्न भनेका हौं

शिक्षक आन्दोलनले बन्द रहेको पोखराको रत्नचोकस्थित जनप्रिय मावि। तस्बिरः नागरिक

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन रोकिएपछि पोखरा महानगरपालिकाले आगामि बुधबारसम्म विद्यालय संचालन गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय संचालन गर्न भनेर सरकारलाई दिएको आदेशको समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालय संचालन गर्न अनुरोध गरेको महानगरले बताएको छ।  

महानगरले सोमबार सूचना प्रकाशित गर्दै शिक्षक महासंघको आन्दोलनका कारण सामूदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै बुधबारदेखि विद्यालय संचालन गर्न आग्रह गरेको हो। महानगरको नगर शिक्षा समितिको आतबार भएको निर्णय अनुसार आगामि बुधबारसम्म पठनपाठन नियमित रुपमा संचालन गर्न शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवालालाई अनुरोध गरेको महानगरको सूचनामा उल्लेख छ।  

पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सर्वाेच्च अदालतले गत बिहीबार तीनदिनभित्र आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी शिक्षकलाई विद्यालयमा फर्काउन सरकारलाई आदेश दिएको र त्यो समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालयमा पठनपाठन संचालन गर्न अनुरोध गरेको बताए।  

‘मंगलबारसम्म कुनैपनि हालतमा निकास दिनु भनेर सर्वाेच्चले सरकारलाई आदेश दिएको थियो। हामीले सर्वाेच्चको आदेश अनुसार शिक्षा मन्त्रालयसँग समन्वय गरेरै बुधबारदेखि विद्यालय खोल्न भनेका हौ,’ आचार्यले भने, ‘सरकारले सर्वाेच्चको आदेश मान्ने हो। आदेश मान्ने क्रममा बुधबारदेखि विद्यालय खोल्नैपर्छ।’

शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको भर्ना अभियान समेत प्रभावित भईरहेको आचार्यले बताए। आचार्यका अनुसार सामुदायिक विद्यालयमा कति संख्यामा विद्यार्थी भर्ना भए भन्ने यकिन गर्न अहिले सकिँदैन।

‘विद्यार्थीले विद्यालयबाट पाउनुपर्ने निशुल्क पाठ्यपुस्तक लगिरहेका छन्। विद्यार्थी नै सम्पर्कमा छैनन भन्न मिल्दैन। तर उनीहरुको यकिन तथ्यांक अहिल्यै थाहा हुँदैन,’ आचार्यले भने, ‘तर शिक्षक आन्दोलको प्रभावका कारण पोखराका कुनैपनि सामुदायिक विद्यालयमा पठनपाठन भएको छैन।’ सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति पदाधिकारी, स्थानीय तह, कर्मचारीले आलोपालो गरेर विद्यार्थीको भर्ना गरिरहेको महानगरको भनाई छ।  

बुधबारसम्म विद्यालय संचालन नभएपनि शिक्षक र विद्यालयलाई कारवाहि हुने वा नहुने बारे भने महानगरले सूचनामा केही उल्लेख गरेको छैन। आचार्यले पनि सूचनामा कसैलाई पनि कारवाहिको कुरा उल्लेख नगरेको र परिस्थिति अनुसार अघि बढ्ने बताए।

पोखरामा यसअघि नै संस्थागत विद्यालयमा पठनपाठन संचालन भईसकेकोले सामुदायिक विद्यालयमा पनि पठनपाठन संचालन गर्नका लागि अनुरोध गरिएको महानगरले बताएको छ। पोखरा महानगरमा वैशाख ८ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुने भनिएपनि महानगरले शिक्षक आन्दोलनका कारण विद्यालय संचालन अवधि तीनदिनका लागि पछाडि धकेल्दै वैशाख ११ देखि विद्यालय संचालन गर्न भनेको थियो। त्यसपछि संस्थागत विद्यालयमा गत विहीबारदेखि अध्यापन सुरु भएको थियो।

पोखरा महानगरपालिकामा मात्र १ सय ९८ वटा सामुदायिक विद्यालय छन्। महानगरभित्र रहेका संस्थागत विद्यालयको संख्या १ सय ७५ रहेको छ। पोखरा महानगरका विद्यालयमा मात्र बालविकासदेखि १२ कक्षासम्म सबैगरि १ लाख ४२ हजार विद्यार्थी रहेको महानगरको तथ्यांक रहेको छ।  

प्रकाशित: १५ वैशाख २०८२ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App