समाज

कालीपुल बसपार्कमा हुलाक काउन्टर

जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका वडा नं ८ कालीपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ। हुलाक सेवा प्रभावकारी बनाउन कालीपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो।

म्याग्दीबाट विभिन्न जिल्ला र छिमेकी मुस्ताङमा सरकारी चिठीपत्र, कागजात, पुलिन्दा (पार्सल) लिखत लगायतका सामग्री यातायातका साधन प्रयोग गरेर पठाउन तथा सर्वसाधारणले हुलाक कार्यालयबाट टिकट खरिद तथा सबै सेवा काउन्टर शाखाबाटै लिन सक्ने कार्यालय प्रमुख रमेश थापाले बताए। ‘सबै पालिकाका केन्द्रमा हुलाक कार्यालय छ। यो काउन्टरबाट पनि थप सेवा लिन सकिन्छ। अब एकै दिनमा पार्सल सम्बन्धित व्यक्तिको हातमा पुग्ने छ।’

हुलाक सेवालाई विश्वसनीय र छिटोछरितो बनाउने उद्देश्यले कालिपुलमा स्थापना गरिएको काउन्टरलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बेनी नगरपालिका वडा नं  

८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला ट्राफिक कार्यालयले समेत आवश्यक सहयोग तथा समन्वय गरेको छ। बेनपा वडा नं ८ को कार्यालयले हुलाकको काउन्टरबाट सेवा लिनसमेत वडावासीलाई अनुरोध गरेको छ। हुलाक शाखा काउन्टरमा खरिदार गणेश पौडेल र हुलाकी तप्तबहादुर कार्कीको दरबन्दी रहेको छ।

हुलाक निर्देशनालय पोखराले पृथ्वी राजमार्ग बस सञ्चालक समिति र जिल्ला हुलाक कार्यालयले म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिसँग डाँक बोक्ने सम्झौता गरेपछि अब अन्य निजी कुरियर सेवाभन्दा पनि प्रभावकारी सरकारी सेवा हुने हुलाक कार्यालयका प्रमुख थापाको भनाइ छ।

यसअगाडि जिल्ला प्रशासन कार्यालयमा समेत टिकट बिक्री काउन्टर स्थापना गरिएको छ। म्याग्दीका ६ स्थानीय तहमा एक जिल्ला हुलाक र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ। हाल जिल्ला हुलाकसहित पालिकामा प्रमुखसहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेका छन्।

प्रकाशित: १५ वैशाख २०८२ ०९:४१ सोमबार

# Nagarik # District Post Office Myagdi