प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई बिदाइ गरेका छन् । सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि भन्दै उनी सर्वोच्च शिखरको यात्रामा निस्कन लागेका हुन् ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामना पनि गरे ।
यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।
बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।
नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद गर्दैछ ।
प्रकाशित: १४ वैशाख २०८२ १८:१० आइतबार