समाज

नन्दादेवी, घनश्याम र पूजा ‘नागरिक नायक’

यसो भन्छन् नागरिक नायक

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको ‘नागरिक नायक–२०८२’ सम्मान तीन जनालाई प्रदान गरेको छ। आफ्नो १७औं वार्षिकोत्सवका अवसर पारेर कैलालीकी वन संरक्षण अभियन्ता नन्दादेवी कुँवर, रूपन्देहीका शिक्षक घनश्याम पाठक र महिला युवा क्रिकेटर पूजा महतोलाई नगदसहित नागरिक नायक सम्मान प्रदान गरिएको हो। नेपाल पुलिस क्लबमा शनिबार आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रूपमा तीनै जना ‘नागरिक नायक’लाई सम्मान गरेका छन्।

को हुन् नागरिक नायक?

नागरिक नायकद्वारा सम्मानित नन्दादेवी एक ‘भुइँमान्छे’ हुन्, जसले जीवनभर निःस्वार्थ वनजंगललाई माया गरिन्। उनी आफ्नो जीवन दाउमा राखेर वन संरक्षण गर्न पछि परिनन्। डोटीमा जन्मिएकी र कैलालीको गोदावरी–३ ढकुवा गाउँमा बस्दै आएकी नन्दादेवी सानैदेखि वनजंगललाई माया गर्थिन्। माइतीको कमजोर पारिवारिक अवस्थाले विद्यालय शिक्षाबाट वञ्चित उनको कलिलो उमेरमै अछामका लक्षण कुँवरसँग विवाह भएको थियो। घरमै कखरा सिकेर उनी साक्षरसम्म बनिन्।

२०५२ सालमा कुँवर दम्पती सुखद जीवनको सपना साँचेर तराई झरेको थियो। त्यहाँ वन कर्मचारीले सत्तानजिकका शक्तिसँग साँठगाँठ मिलाएर तीव्र रूपमा जताततै वनको दोहन भइरहेको नन्दादेवीले देखिन्। यस्तै मालाखेतीनजिकको जंगलमा वन माफियाहरूको व्यापक अतिक्रमण र मनपरी फँडानी रोक्न कसैले आँट गरिरहेका थिएनन्। समय बित्दै गयो, नन्दादेवी तराईको वातावरणसँग घुलमिल हुँदै गइन्। त्यस्तैमा सानैदेखि वनजंगलको माया बोक्ने नन्दादेवीमा विद्रोहको चेतसहित आँट पलायो। त्यसपछि उनी प्रस्तावित मधुमालती सामुदायिक वनको अध्यक्ष बनेर अघि बढिन्। तर उनलाई सजिलो भने कहाँ थियो र ! २०६९ वैशाख ९ गते बिहानै उनको घरमा वन अतिक्रमण भइरहेको खबर पुग्छ। उनी हतारहतार बिहानको खाजा खाएर वन संरक्षण समर्थक जुटाउन गाउँ दगुर्छिन्।

समूह लिएर बिहान ११ बजेतिर अतिक्रमित क्षेत्रमा पुग्छिन्। त्यसपछि त्यहाँ नन्दादेवीको समूह घेरबार गर्न थाल्छ, त्यहीबेला एक हुल मानिस हातहातमा हतियार बोकेर त्यहाँ पुग्छ। त्यही भिडको एक मान्छेले उनीमाथि खुँडा चलाउँछ। ज्यान जोगाउन हातले खुँडा छेक्न खोज्दा दुवै हात काटिन्छन्। वन जोगाउन हिँडेका बेला त्यो घटनापछि उनका भान्जाले समयमै अस्पताल पुर्‍याएर जोगाए। संयोगले त्यो दिन बाँचेकी नन्दादेवीका हात शल्यक्रियापछि जोडिएका छन् तर ती पूर्णतः चल्दैनन्।

उनी त्यसपछि भने वन संरक्षणको अभियानमा झन् मुखरित भएर हिँडिरहेकी छन्। उनले रगत बगाएर जोगाएको सामुदायिक वनको नाम मधुमालतीबाट मधुमालती नन्दा महिला सामुदायिक वन बनाइएको छ। त्यसपछिको नन्दादेवीको नामको चर्चा संसारभर फैलियो। उनको सम्मानमा वनस्पति वैज्ञानिक समूहले दुर्लभ सुनाखरी फूलको २०७३ सालमा नामकरण गरे। ‘ओडोन्चिलस नन्देयी’ नामकरण गरिएको यो सुनाखरी कास्कीको पन्चासेबाट संकलन गरेर नौलो प्रजातिका रूपमा वैज्ञानिकले पुष्टि गरेका हुन्। नन्दादेवीमाथि ज्यानमारा आक्रमण गर्ने व्यक्ति १३ वर्षसम्म पनि फरार छन् तर नन्दादेवीको मनोबल घटेको छैन।

दुवै हात काटिएर अपांग बनेकी नन्दादेवीलाई घरधन्दा चलाउन सहज भएन। हात काटिएपछि पनि उनी वन संरक्षणमा त लागिरहिन् तर माफियाहरूले भने धम्की दिन छाडेनन्। धम्कीकै कारण मानसिक रूपमा लगातार तनाव भएपछि घरमा समेत कलह सुरु भयो। नन्दादेवीले पारिवारिक सम्बन्ध सुध्रन्छ कि भनेर सामुदायिक वन समितिको जिम्मेवारी त छाडिन् तर पतिसँगको सम्बन्धमा सुधार हुनै सकेन। उनीहरूको सम्बन्धविच्छेद भयो। पछिल्लो समय नन्दादेवी छोरीको घरमा आश्रय लिएर बसेकी छन्।

हत्याबाट जोगिएकी नन्दादेवीलाई संरक्षणमा लागेको भन्दै विभिन्न संघसंस्थाले सम्मान दिएका छन्। उनलाई नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले ५० हजार रूपैयाँ नगद पुरस्कारसहित ‘वातावरण संरक्षण महिला पुरस्कार–२०६९’ले सम्मानित गरेको छ।

त्यस्तै सन् २०१२ मा विश्व वन्यजन्तु कोषबाट विशेष संरक्षण पदक, सेलिब्रिटी वुमनहुड नरदेवी सम्मान पाएकी छन्। जिल्ला वन कार्यालय कैलाली, पर्यावरण संरक्षण एवं वन पैदावार व्यवसायी संघ कैलालीले पनि उनलाई सम्मान गरेको छ। विश्व बैंकले सन् २०१८ मा सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा पनि नन्दादेवीलाई उत्कृष्ट १६ नायकका रूपमा छनोट गरेको थियो। यसबाहेक दर्जनौं पुरस्कार तथा सम्मान उनले पाएकी छन् ।

अर्का नागरिक नायक हुन्, बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठक। २०१७ सालमा बागलुङ जिल्लाको गल्कोट–९ हरिचौरमा जन्मिएका घनश्याम सामान्य घरपरिवारमा जन्मिएका व्यक्ति हुन्। जसले घाँसदाउरा, मेलापात, खेतबारी जोतखन सबै गरेर हुर्किंदै पढेका हुन्। उनको लगनशील पढाइबाट प्रभावित बुबाले उनलाई बुटवलमा ल्याएर एसएलसीसम्मको शिक्षा दिएका थिए। त्यसपछि उनी इन्जिनियर बन्ने सपना बोकेर उनी काठमाडौं हान्निए। पुलचोक क्याम्पसमा सबओभरसियरमा प्रवेश परीक्षा दिए, नाम पनि निकाले, पढ्न भने पाएनन्।

काठमाडौंमा खानबस्न र पढाइ खर्च पुर्‍याउन सकिँदैन भनेर बुवाले सम्झाएपछि उनी गाउँ फर्कन बाध्य भए। त्यसपछि छात्रवृत्ति खोज्दै जाँदा शिक्षा संकाय पढे। २०४५ असारदेखि शिक्षण पेसामा आबद्ध भएका हुन्। देशको परिवर्तनका लागि सबैभन्दा पहिले शिक्षामा सुधार हुनुपर्छ भन्ने मान्यता बोकेका पाठक बालबालिकाका लागि शिक्षाको ज्योति छर्नुपर्छ भन्ने धारणासहित आफू पनि जुटे। सुरुका १० वर्ष बागलुङको पृथ्वी मावि गल्कोटमा पढाएका घनश्यामले उक्त विद्यालयलाई उत्कृष्ट विद्यालय बनेर पुरस्कृतसमेत गराउन सफल भएका थिए ।

२०५६ सालमा उनी बुटवलको कालिका माध्यमिक विद्यालय झरे। उनी त्यहाँ पुग्दा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारको अवस्था दयनीय थियो। उनले त्यसपछिका १० वर्ष जिल्लामै उत्कृष्ट शिक्षकका रूपमा छाप बनाइसकेका थिए। २०६५ सालमा धनश्यामको काँधमा प्रधानाध्यापकको जिम्मेवारी थपियो। त्यसपछि उनको नेतृत्व र योजनामा कालिकाले निकै ठुलो शैक्षिक छलाङ मारेको छ।

घनश्याम प्रधानध्यापक हुँदाको अवधिमा विद्यालय लगातार चार पटकसम्म देशमै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भयो। २०७२ सालमा कालिकाले सामुदायिकतर्फ नेपाल प्रथम भई राष्ट्रिय ध्वजासहित सर्वोत्कृष्ट पुरस्कार पाएको थियो। २०७१ सालदेखि हालसम्म उक्त विद्यालयले प्राविधिकतर्फ नेपाल प्रथम भई पुरस्कृत हुँदै आएको छ।

 कालिकालाई २०७४ सालमा तृतीय पुरस्कार प्राप्त गर्न सफल भयो। विद्यालयले २०७५ देखि नमुना विद्यालयमा छनोट भई अनुदान प्राप्त गर्दै आएको छ। कक्षा ११ र १२ मा पनि पटकपटक नेपालमै उत्कृष्ट नतिजा हासिल गर्न यो विद्यालय सफल भएको छ। २०७७ सालमा विद्यालयको शिक्षकबाट घनश्यामले अनिवार्य अवकाश पाए।

२०७० सालदेखि घनश्यामकै अगुवाइमा सो विद्यालयमा सामुदायिक क्याम्पस पनि चलाइएको छ। विद्यालय र क्याम्पसमा आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अहिले उनी कालिका क्याम्पसका प्रमुख छन्। बुटवल कालिका क्याम्पसलाई पनि देशकै उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने उनको सपनाले अहिले साकार रूप लिँदै छ।

अर्की नागरिक नायक १८ वर्षीया पूजा महतो पछिल्लो समय परिचित नेपाली क्रिकेटर हुन्। जसको नेतृत्व र अलराउन्ड प्रदर्शनका मद्दतले नेपालले आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको थियो। त्यसयता उनी क्रिकेटप्रेमीमाझ चर्चामा छिन्।

महोत्तरीको गौशाला नगरपालिका–९ डुवरबनाकी १८ वर्षीया पूजा विपन्न परिवारमा जन्मेकी हुन्। उनको सफलताले उनको कद मात्र नभई देशकै कद उँचो बनाएको छ।

गरिबीका कारण पूजाका बुवा रञ्जित महतो नौ वर्षकै उमेरमा भारतको नयाँ दिल्ली मजदुरी गर्न पुगेका थिए। लामो समय दिल्लीमा मजदुरी गरेर उनी घर फर्के र बिहे गरे। पूजा १५ महिनाकी छँदा रञ्जित सपरिवार मजदुरीका लागि दिल्ली पुगे। पूजा, उनकी बहिनी आरती र भाइले दिल्लीमै अध्ययन गरे। कक्षा १२ उत्तीर्ण पूजा नेपालमा प्रहरी वा सेना बन्न चाहन्थिन् तर कोभिडले उनको भाग्य बदलिदियो। कोभिडका बेला पूजाको परिवार गाउँ फर्किएको थियो। त्यो बेला भाइलाई क्रिकेट एकेडेमी ल्याउने–पुर्‍याउने काम गर्दा उनलाई पनि क्रिकेट सिक्ने र खेल्ने अवसर जुर्‍यो। त्यही संयोगले उनको क्रिकेट खेलेको भिडियो नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहसम्म पुग्यो। त्यसपछि एकैपटकमा पूजाले नेपाली टोलीमा समावेश हुने मौका पाइन्।

पछिल्लो समय पूजाको खेलले घरपरिवार त दंग छन् नै, उनका समर्थक तथा फ्यान फलोइङ पनि बढेको छ। उनको खेल प्रतिभाले यति छिटो विश्व महिला क्रिकेटलाई प्रभाव पार्‍यो कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भर्खरै सम्पन्न युवा विश्वकपको ‘ड्रिम टिम’मा पूजालाई समावेश ग¥यो। त्यसबाहेक पनि केही गजबको कीर्तिमान उनको नाममा लेखिसकिएको छ।

तीनै जनालाई नागरिक नायक सम्मानपछि राष्ट्रपति पौडेलले ‘नागरिक नायकजस्तै व्यक्तिले गाउँमा बसौंबसौं बनाउने’ टिप्पणी गरे।

‘नेपालका विभिन्न ठाउँमा रहेर उहाँहरूले गरिरहेको कामले निश्चय नै नेपालीलाई बाटो देखाउनेछ,’ उनले भने, ‘समाजमा रहेका उहाँहरूजस्ता व्यक्तिले नै यसलाई गाउँ मै बसौंबसौं लाग्ने बनाउने हो। म उहाँहरूलाई बधाई भन्न चाहन्छु।’

भविष्यमा पनि आफू सम्मान भएका पात्रबाट हुने अरू राम्रा कामबारे जानकार हुन चाहेको राष्ट्रपति पौडेलले बताए ।

नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीले ‘नागरिक नायक सम्मान प्राप्त गर्नेहरू समाजका वास्तविक लिडर’ रहेको बताइन्। ‘नागरिक नायक साच्चिकै समाजका लिडर हुनुहुन्छ,’ ज्ञवालीले भनिन्, ‘हामी नेतालाई राजनीति परिप्रेक्ष्यमा मात्र बुझ्छौं तर नेता हरेक क्षेत्रमा हुन्छन् भन्ने आजको कार्यक्रमले देखाएको छ।’

शिक्षा, स्वास्थ्य, समाजसेवा क्षेत्र, प्रशासन, कलाजस्ता क्षेत्रमा जसले राम्रो काम गर्छ ऊ नेता रहेको ज्ञवालीले बताइन्। ‘उहाँहरूका प्रेरणदायी कथा सुन्दा उहाँहरूको नेतृत्व झल्किन्छ। मिडियाले यस्तै सामाजिक नायकका कथा र आवाज दिनुपर्छ,’ ज्ञवालीले भनिन्।

नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले ‘नागरिक नायक’ कार्यक्रममार्फत असाधारण चुनौती पार गरेर समाज र समुदायका लागि मार्गदर्शन गर्ने नेपाली नागरिकलाई सम्मान गरिएको बताइन्। ‘यो कार्यक्रम आशा, शक्ति र दृढताको उत्सव हो,’ उनले भनिन्, ‘हिजो मैले सम्मानित व्यक्तिहरूसँग भेट्दा उनीहरूको उद्देश्यपूर्ण कथाले मलाई प्रभावित बनाएको थियो।’

यसो भन्छन् नागरिक नायक

वनको माया लाग्छ: नन्दादेवी

‘नागरिक नायक’ नन्दादेवी कुँवरले यो सम्मानबाट आफूलाई निकै खुसी लागेको बताएकी छन्। ‘मैले वन संरक्षण प्रयास वनको मायाले गरेको हो। त्यसमा झन्डै ज्यान गुमाउनुप¥यो, जीवनमा अपांगता भोग्नुपर्‍यो,’ उनले भनिन्, ‘अहिले सम्माननीय राष्ट्रपतिबाटै यसरी सम्मानित हुन पाउँदा खुसी लागेको छ।’

नागरिक नायक सम्मान घोषणापछि पत्रकार बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै कुँवरले आफू वनजंगलमै हुर्किएकाले संरक्षणको प्रेरणा मिलेको बताइन्।

उनले भनिन्, ‘वनमा हुर्किएको मानिस हुँ। बाबुआमाको घर जंगलनजिकै थियो। लालीगुराँस, चराचुरुंगीसँग खेलेको अनुभव छ। रुखका हाँगा काट्दा पनि लालीगुराँस फुल्दैन। मलाई वन र रुखहरू प्यारा लाग्छन्।’ राष्ट्रपतिको हातबाट सम्मान पाउँदा आफूलाई थप प्रेरणा मिलेको पनि उनले सुनाइन्।

शिक्षक बन्नुमा गर्व: घनश्याम

अर्का ‘नागरिक नायक’ घनश्याम पाठक आफ्ना अनुभव र केही सुझावसहित प्रस्तुत भए। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पाठकले आफ्नो विद्यालयका एक सय ५० कक्षाकोठा सबै भरिभराउ रहेको सुनाए। ‘विद्यालयमा ४, ५ र ६ कक्षामा मात्रै नयाँ भर्ना लिन्छौं। माथिल्ला कक्षामा आफ्नै विद्यार्थी मात्रै पढ्छन्,’ पाठकले सुनाए।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ पढ्न नाम निकालेको तर आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाएको उनले बताए।

उनले भने, ‘तर अहिले लाग्छ म झुक्किएर इन्जिनियर बनिनँ। अहिले शिक्षक भएकोमा गर्व लाग्छ।’ पढ्न छात्रवृत्ति कहाँ पाइन्छ भन्दै खोज्दै जाँदा शिक्षामा पाएको र शिक्षा पढ्दा सिकेका सैद्धान्तिक कुरा कक्षामा कसरी लागु गर्न सकिन्छ भन्ने प्रयास गर्दा अहिलेको नतिजा आएको उनले सुनाए। ‘म आफूले पढाएको सबैभन्दा ट्यालेन्ट विद्यार्थीलाई विद्यालयमा सिफारिस गर्छु र आफ्नै विद्यालयमा भिœयाउन कोसिस गर्छु। त्यसको नतिजा पनि हो,’ पाठकले भने ।

आइसिसीमा नम्बर एक: पूजा  

अर्की नागरिक नायक क्रिकेटर पूजा महतोले क्रिकेटमा प्राप्त सफलता बुबाआमाको प्रेरणाको उपज भएको बताइन्। नागरिक न्युजका सम्पादक तेजेन्द्र काफ्लेसँग कुरा गर्दै क्रिकेटर पूजाले आमाबुबाको आशीर्वादले आफूलाई क्रिकेटमा सफलता मिलेको सुनाएकी हुन्। ‘यो सबै मेरो बुबाको आशीर्वादले हो जस्तो लाग्छ,’ उनले भनिन्, ‘जसलाई आमाबुबाको साथ छ, उसले राम्रो गर्छ जस्तो लाग्छ।’

पूजाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निर्धारण गर्ने खेलाडीको वरीयतामा पहिलो हुने आफ्नो सपनालाई यथार्थमा परिणत गर्न आफू लाग्ने बताइन्।

‘नेपालको सपना छ, नेपालको मात्र होइन, आइसिसीको अलराउन्डर ¥यांकिङमा नम्बर वानमा आउन चाहन्छु,’ पूजाले सपना सुनाइन् ।

प्रकाशित: १४ वैशाख २०८२ ०६:३४ आइतबार

# Nagarik # Nagarik Nayaak # 17th anniversary