नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले आफूहरूले प्रणालीमा विश्वास गर्ने बताएकी छन्।
मिडियाको १७औँ स्थापना दिवसका अवसरमा शनिबार (आज) काठमाडौंमा आयोजित ‘नागरिक नायक–२०८२’ घोषणा तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
'म गौरबका साथ भन्न सक्छु कि हाम्रो आवाज देशको एक महत्त्वपूर्ण र प्रभावशाली आवाज हो। हामी प्रणालीमा विश्वास गर्छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा हामीले सशक्त रूपमा आफ्ना उत्तरदायित्व पूरा गर्दैछौँ,' ज्ञवालीले भनिन्।
उनले कम्पनीलाई अरु ठूला कम्पनीहरूलाई झैँ अटुट रूपमा अगाडि बढाउने सपना रहेको सुनाइन्। 'हुन त मैले यो कम्पनीमा काम गरेको १२ वर्ष मात्रै भएको छ तर, यो संस्था स्थापना भएको १७ वर्ष पूरा भइसकेको छ। हाम्रो एउटा सानो सपना छ, जहाँ नेपाली मिडियालाई संस्थागत गरेर अरु ठूला ठूला कम्पनीहरू जस्तै अटुट बनाउने। यो सपना साकार पार्न हामी सबै एकजुट भएर काम गरिरहेका छौँ। यसका लागि म सम्पादकीय टिमसहित सबैलाई धन्यवाद भन्न चाहन्छु,' उनले भनिन्।
यस्तै प्रबन्ध निर्देशक ज्ञवालीले मिडियाले अन्तर्राष्ट्रिय रूपमा पनि साझेदारी गरिरहेको बताइन्। अमेरिकाको न्यूयोर्क टाइम्ससँग साझेदारी गरेको उल्लेख गर्दै उनले कम्पनी कहिल्यै नथाक्ने बताइन्।
प्रकाशित: १३ वैशाख २०८२ १६:५२ शनिबार