नागरिक नायक–२०८२ घोषणा सम्मान समारोह सुरु भएको छ।
नेपाल रिपब्लिक मिडियाले शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गर्न लागेको हो।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवाली र राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर नागरिक नायक–२०८२ घोषणा सम्मान समारोहको उद्घाटन गरेका छन्।
यस मिडियाले हरेक वर्ष नागरिक नायक घोषणा गर्दै आएको छ। नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएकालाई यस वर्ष नागरिक नायकबाट सम्मान गरिने छ।
नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरूले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरूको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंस्था र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।
यसअघि डा. रामकण्ठ माकजु श्रेष्ठ, देवी खड्का, डा.गोविन्द केसी, महाविर पुन, खैरुन निसा, यन्दिरा सापकोटा, डा.सन्दुक रुइत, रामेश्वरप्रसाद खनाल, रामप्रसाद श्रेष्ठ, फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा, धुर्मुस सुन्तली, सत्यमोहन जोशी, पुर्ण गौतम, पवन सिंधानिया श्रीजंग शाह, दिनेश तामाङ, विनोद शाही, मुस्कान खातुन, टेकु अस्पताल, रबिन्द्रलाल चौधरी, सत्यनारायण महतो (आलोक), विष्णु गौतम, छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।
प्रकाशित: १३ वैशाख २०८२ १६:०५ शनिबार