२०७२ सालको भूकम्पले सयौंको संख्यामा अस्पताल र स्वास्थ्य संस्था ध्वस्त भए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजारभन्दा बढी अस्पताल र स्वास्थ्य केन्द्र भत्किए। ती मध्ये पाँच सय वटा स्वास्थ्य संस्था कामै नलाग्ने गरी भत्किए। प्रसूति अस्पतालको पुरानो भवन, वीर अस्पतालको पुरानो भवन, कान्ति अस्पतालको पुरानो भवन, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरानो भवन, सिन्धुपाल्चोकको अस्पताल, पाँचखाल, नुवाकोट, धादिङ, गोरखा अस्पताल र अन्य स्वास्थ्यचौकी गरी हजार बढी संख्यामा स्वास्थ्य संरचना भत्किए।
स्वास्थ्य संस्थाहरू भत्किएपछि भूकम्पका घाइतेलाई तत्कालै उपचार गर्न सरकारले कठिनाइ झेल्नुपरेको थियो। सयौको संख्यामा घाइतेलाई अस्थायी टहरामा राखेर पनि उपचार गरिएको थियो। भूकम्पले आक्रान्त बनेको नेपाललाई अस्पताल तथा स्कुल पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय निकायले हातेमालो गरे। तीमध्ये जापान सरकारले एक वर्षभित्रै वीर अस्पताल र प्रसूति अस्पतालमा भवन पुनर्निर्माण गरी हस्तान्तरण गरेको थियो। त्यसैगरी सिन्धुपाल्चोक अस्पताल निर्माण भएको ६ महिनामै भूकम्पले पूरै ध्वस्त पारेको थियोे। यो अस्पताल १९ करोेड लागतमा बनेको थियो।
नयाँ भवन भत्एिकपछि ठेक्का लिएको निर्माण कम्पनीलाई कारबाही गर्नुपर्र्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भए पनि कारबाहीको निर्णय हुन नसकेको मन्त्रालयका तत्कालीन सहसचिव महेन्द्र श्रेष्ठ बताउँछन्।
अस्पताल तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि विभिन्न देशहरूले सम्झौता गरेका थिए। तीमध्ये सिन्धुपाल्चोक बाह्रबिसेको स्वास्थ्य चौकी अमेरिकाले तत्कालै निर्माण गरेको थियो।
त्यसैगरी रामेछाप र जिरी अस्पताल जर्मन सरकारले पुनर्निर्माण गरेको थियो। सिन्धुपाल्चोक अस्पताल चीनले निर्माण गरेको थियोे। यीबाहेक तीन सय ६० वटा अस्पताल तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भारत सरकारले सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सहसचिव महेन्द्र श्रेष्ठ बताउँछन्।
भारत सरकारले सम्झौताअनुसार पहिल्यै स्वास्थ्य केन्द्रहरू ७५ सालभित्रै निर्माण सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म नभएको सहरी विकास तथा भवन तथा आवास निर्माण केन्द्रीय आयोजनाले जनाएको छ।
आयोजनाका निर्देशक प्रकाश अर्यालका अनुसार भारतले तीन वर्षअघि मात्र एक सय ३२ वटा स्वास्थ्य केन्द्र निर्माणको थालनी गरेको छ। तीमध्ये ९५ वटा स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३७ वटाको निर्माण सम्पन्न भइसककेको छैन। त्यसै गरी कान्तिबालमा भवन निर्माणका लागि डिपिआर मात्र भएको छ। रेक्टोफिटिङ गर्नुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालको सुरुवात नै भएको छैन।
अहिले पनि थुपै स्वास्थ्य केन्द्रको पुनर्निर्माणको अवस्था कस्तो छ भन्ने विषयमा यकिन तथ्यांक नभएको पूर्वसहसचिव श्रेष्ठ बताउँछन्। ‘भूकम्पलगत्तै नेपालमा संघीयता लागु भएपछि स्थानीय तहको भागमा परेको स्वास्थ्य संस्था भूकम्पीय दृष्टिकोणले सुरक्षित छन् वा छैेनन् यकिन छैन,’ उनले भने।
अस्पताल तथा स्वास्थ्य केन्द्र भूकम्पप्रतिरोधी मापदण्डअनुसार बन्नुपर्ने भवन तथा आवास पुनर्निर्माण आयोेजनाका निर्देशक अर्याल बताउँछन्। उनका अनुसार स्वास्थ्य भवनहरू कम्तीमा साढे आठ रेक्टरको भूकम्प प्रतिरोध गर्न सक्ने अवस्थाको हुनुपर्छ।
भूकम्प गएलगत्तै भारतले स्वास्थ्य केन्द्र निर्माणका लागि एक अर्ब दिने घोषणा गरेको थियो तर समयमै निर्माण सुरु नगरेपछि स्वास्थ्य संस्था पुनर्निर्माण हुन नसकेको देखिन्छ। भूकम्प मात्र नभई कुनै पनि विपद्का बखत स्वास्थ्य संरचना र स्वास्थ्य जनशक्ति अहिले पनि पर्याप्त तयारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेल बताउँछन्। ‘कान्तिको भवन अहिलेसम्म बनेको छैन,’ उनले भने, ‘जनशक्ति पूर्वाधार बढ्नुपर्ने हो, त्यसअनुसार बढेको छैन।’
प्रकोपका बेला तत्कालै के सम्बोधन गर्ने भन्ने विषयमा चिकित्सकलाई तालिम दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख तथा प्रवक्ता डा. प्र्रकाश बुढाथोकीले जानकारी दिए। ‘रेस्पोन्सको तालिम दिइरहेका छौ, क्षति भएकोबाहेक छुट्टै संरचना थपेका छैनौं,’ उनले भने।
प्रकोपलाई लक्षित गरी जनशक्ति दरबन्दी नबढेको नीति तथा योजना शाखाका प्रमुख पौैडेल बताउँछन्। तर ठुलो भूकम्प गएको बखत अहिलेकै जनशक्तिले समन्वय गरेर आकस्मिक सेवा प्र्रदान गर्ने गरी इन्सिडेन्ट कमान्डको जनशक्ति तयार भएको उनले बताए। ‘इन्सिडेन्ट कमान्ड बनेको छ,’ उनले भने, ‘अब जनशक्ति र पूर्वाधार तयारी गर्नुपर्ने देखिन्छ।’
प्रकाशित: १३ वैशाख २०८२ ०९:५८ शनिबार