साना तथा मझौला आकारका चिटिक्क घर। राता, नीला, हरिया जस्तापाता र घरको साजसज्जाले रंगीन गाउँ तथा बस्ती। टोलैपिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पुर्याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिएका गाउँ खानेपानी, शौचालय, बिजुलीलगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिएका छन्।
‘भूकम्पपछिको एक दशकपछि पुनर्निर्माणमार्फत सिन्धुपाल्चोकको मुहारै फेरिएको छ। खण्डहरबाट उठेर यहाँका गाउँ, बस्ती विकासको लहर भित्र्याउन उद्यत् छन्’, भूकम्पपीडितका आवास निर्माणमा पछिल्लो पाँच वर्ष नेतृत्व गरिरहेको तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइ, (भवन) का प्रमुख इन्जिनियर सन्तोष निरौला बताउँछन्।
भूकम्पपछि सिन्धुपाल्चोकमा ८८ हजार घरको पुनर्निर्माण सम्पन्न भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ। २०६८ को राष्ट्रिय जनगणनालाई आधार मान्दा जिल्लाको पुनर्निर्माण तीन वर्षअघि सम्पन्न भइसकेको हो। अर्थात् जनगणनामा कायम घरधुरी संख्याभन्दा झन्डै २० हजार घर बढी बनेका हुन्।
जनगणनामा जिल्लाको घरधुरी संख्या ६८ हजार मात्र थियो, तर लाभग्राही संख्याका आधारमा भने अझै पुनर्निर्माण सकिएको देखिँदैन। भूकम्पपीडित लाभग्राही संख्या भने ९० हजार नौ सय चार थियो।
भूकम्प मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो। पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्मको पुनर्निर्माण सकिएर प्रभावितले साविक लय पक्रेका छन्। एक समय पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति खटिएको तथ्यांक थियो।
विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पुर्याउने क्रममा तीन हजार पाँच सय ७० को ज्यान लिँदै ९० प्रतिशत घर संरचना पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। सबै गाउँ–बस्ती खण्डहरमा बदलिँदा जिल्ला झन्डै–झन्डै संरचनाविहीन अवस्थामा पुगेको थियो।
भग्नावशेषै–भग्नावशेषका गाउँ–बस्ती, आफन्त गुमाउनुको पीडा, चौरतर्फी सत्यानास, विनाश र लगातारका परकम्पले उत्पन्न गराएको त्रास, भोको पेटमा खुला आकाशमुनिको बास देख्दा लाग्यो, सजिलै सिन्धुपाल्चोक ब्युँतन सम्भव छैन, तर पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको साढे पाँच वर्ष र पुनर्निर्माण अभियान थालनीको साढे चार वर्षमै सिन्धुपाल्चोक जुरुक्क ठडियो। पुनर्निर्माणलाई पीडितले साझा संकल्प बनाउँदा जिल्लाका गाउँ–बस्ती भूकम्पअघिकै अवस्थामा मात्र पुगेका छैनन्, झन् राम्रा, चिटिक्क र सुन्दर भएका छन्। जिल्लाको जुनसुकै भूभागबाट नियाल्ने हो भने चारैतिर रंगीन बनेर ठडिएका गाउँ–बस्ती देख्न सकिन्छ।
भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले आशातीत गति लिन सकेको थिएन। गएको २०७४ वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समयसीमा तोकेपछि पुनर्निर्माण अभियानकै रूप अघि बढ्यो। स्थानीय तहले जनप्रतिनिधि पाइरहँदा जिल्लामा एक सय ६३ घरको मात्र पुनर्निर्माण भएको थियो भने करिब १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए। पुनर्निर्माणमा खटिएका अधिकारी स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको बताउँछन्।
पीडितका अनुदान किस्ता वितरणसम्बन्धी र अन्य गुनासाका चाङ बोकेर जनप्रतिनिधि आफैं सदरमुकाम आइपुग्थे। जिल्लादेखि केन्द्रसम्म धाएर समस्याको गाँठो फुकाउँथे। दुवै स्थानीय तहको चुनावी अभियानमा पुनर्निर्माणलाई नै मुख्य एजेन्डा बनाएका उनीहरूले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए।
पुनर्निर्माणका कारण सडक, खानेपानी, शौचालय, सरसफाइ, विद्युत्का क्षेत्रमा समेत ठूला काम भएका छन्। घर बनाउन पानीको जोहो गर्दा प्रत्येक जनस्तरबाट बस्तीमा खानेपानी सुविधा पुगेको छ। सरकार र संघसंस्थाको सहयोगमा ‘पम्पिङ’, ‘लिफ्टिङ’ सहित साना–ठूला दर्जनौं खानेपानी आयोजना पुगेका छन्।
त्यस्ता ठाउँका बस्तीका हरेक घरमा व्यक्तिगत धारा जडान गरिएको छ। ‘सार्वजनिक र व्यक्तिगत त्यस्ता धारा अपांग र बालबालिकामैत्रीसमेत छन्’, भूकम्पपछि एक दर्जनभन्दा बढी खानेपानी आयोजना र केही एकीकृत बस्ती निर्माणमा अगुवाइ गरेको संस्था जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए।
जिल्लाका साविक सबै ७९ गाविस भूकम्पअघि नै सडक सञ्जालले घेरिइसकेका थिए, तर टोल, बस्ती र गाउँमा सडक पुगेको थिएन। निर्माण सामग्री ओसार्न ट्र्याक खोलिँदा प्रत्येक टोल र बस्तीमा सडक पहुँच विस्तार भएको छ। पुनर्निर्मित प्रत्येक घरमा शौचालय बनेको छ।
पुनर्निर्माणकै बलमा सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषित भएको थियो। पीडितले नयाँ संरचनामा बलियो ‘वायरिङ’ गरेर विद्युत् लाइनलाई व्यस्थित मात्र गरेका छैनन्, चट्याङले निम्त्याउने सम्भावित दुर्घटना रोक्न ‘लाइटिङ रड’ समेत प्रयोग गरेर घर र बस्तीलाई नै चट्याङमुक्त पनि बनाएका छन्। पुनर्निर्माणपछि चट्याङबाट ज्यान गुमाउने जस्ता घटना भारी घटेको छ।
अधिकांश पीडित ‘लोड वियरिङ’ संरचनामा आकर्षित देखिए। गारोले भार बोक्ने भूकम्पप्रतिरोधी यो संरचना निकै बलियो मानिन्छ। ढुंगामाटो र काठ तथा इँटा, सिमेन्ट र छड प्रयोग गरी बनाइने यस्ता घर आधुनिक र आकर्षकसमेत देखिन्छन्। धेरै इँटा र सिमेन्टका घर बनेका छन्।
कतिपय पीडितले ढुंगामाटो र काठ प्रयोग गरी घर बनाए पनि ती भूकम्पप्रतिरोधी छन्। आरसिसी संरचनाको आधुनिक घरसमेत ठूलो संख्यामा बनेको देख्न सकिन्छ। पर्यटकीय क्षेत्र हेलम्बु, मेलम्चीघ्याङका कामी लामा भूकम्पपछि गाउँ सहरजस्तै देखिन थालेको सुनाउँछन्। उनी भन्छन्, ‘हेलम्बुको बजार....’ भनेर गीत बने पनि यहाँका बस्ती गाउँ नै थिए। अहिलेचाहिँ गीतले भनेजस्तै भएको छ।’
एकीकृत बस्तीको जिल्ला
सात रोपनी क्षेत्रफलमा फैलिएको जमिन। पूरै जमिन घेरिएको छ कम्पाउन्डले। स्लेट ढुंगा टाँसिएको चिटिक्क मुख्यद्वारबाट कम्पाउन्डभित्र छिरेपछि मन लोभिन्छ; आँखा टक्क अडिन्छन् र ध्यान एकत्रित हुन्छ। एकै शैलीमा बनेका ‘यु’ आकारका १० घर। सेता, काला, कैला, खैरा र सुन्तला रङले रंगिएका सबै। हरियो दुबो लहराउँदै गरेको आँगन। कैला र खैरा रङका स्लेट ढुंगा बिछ्याइएको मुख्य मार्ग। यो मार्ग जस्तै छ, घर–घर पुग्ने बाटो पनि। स्लेट ढुंगै टाँसिएका होचो पर्खालको भित्री कम्पाउन्ड, ढुंगाको सजावट। दुबो लहराउँदै गरेको फराकिलो आँगनमा हुर्कंदै गरेको धुपीलगायत बोटबिरुवा। भर्खरै रोपिएका सयपत्री, मखमली र स्थानीय प्रजातिका फूल मैलाउँदै छन् घर–घर ढकमक्क बनाएर सुवास छर्न।
बस्तीको बीचमा झरना र पानी फोहोरा। सातै रङ, इन्द्रेणी रङले कसको मन लोभ्याउँदैन र ? मुख्य र भित्री कम्पाउन्डका ठाउँठाउँमा व्यवस्था गरिएको बत्ती बल्दा रातको समयमा सिँगो बस्ती इन्द्रणी झैं धपक्क बल्छ।
यो हो भोटेकोसी गाउँपालिकास्थित अरनिको गाउँ राउत एकीकृत बस्ती। जिल्लामा यस्ता २३ एकीकृत बस्ती बनेका छन्। सिन्धुपाल्चोक मुलुकमै सबैभन्दा धेरै नमुना एकीकृत बस्ती भएको जिल्लासमेत बनेको छ। यहाँका १२ मध्ये सात स्थानीय तहमा यस्ता बस्ती बनेका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिकाको गिरानचौरमा ६५ घरधुरीको एकीकृत नमुना बस्ती बनाएर २०७३ कात्तिकमा समुदायलाई हस्तान्तरण ग¥यो। जनस्तरबाट संकलित पाँच करोड रूपैयाँभन्दा बढी लगानीमा निर्मित आकर्षक र सुन्दर गिरानचौर बस्ती वास्तवमै नमुनायोग्य छ।
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाइमा बनेको यो बस्तीले मुलुकको ध्यान मात्रै खिचेन; जिल्लामा एकीकृत बस्तीको लहरै ल्यायो। यसलाई संस्थागत गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत भूकम्पप्रभावित जिल्लाका प्रत्येक स्थानीय तहमा एउटा नमुना एकीकृत बस्ती बसाल्ने नीति लिएको थियो।
विनाशकारी भूकम्पपछिको विपद्मा प्रगाढ पारिवारिक र दरिलो सामाजिक एकताको महत्व बुझेका पीडितले त्यसलाई जीवन्त राख्न एकीकृत नमुना बस्तीमा आकर्षित देखिए। एकीकृत बस्तीमा घरैपिच्छे सडक, खानेपानी, शौचालय, अपांग र बालमैत्री वातावरणसहित सामुदायिक भवन, खेल मैदानलगायत न्यूनतम सहरी पूर्वाधारको पहुँच उपलब्ध छ। एउटै आकार, एकै प्रकृतिको रङरोगन र साजसज्जा त्यस्ता एकीकृत बस्तीका प्रमुख विशेषता रहेका छन्।
तत्कालीन एकाइ (भवन) का प्रमुख निरौला एकमुष्ट विकासका पूर्वाधारको पहुँच पुग्ने भएकाले पीडित एकीकृत बस्तीमा आकर्षित भएको बताउँछन्। पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती निर्माणमा जोड दिने नीति लिएको स्मरण गर्दै उनले भने, ‘एकीकृत बस्ती भन्नासाथ त्यहाँ सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकीलगायत एकमुष्ट विकासका पूर्वाधार तयार हुन्छन्। छरिएका घर–घरमा यस्ता पूर्वाधार पुग्न सहज छैन।’ पूर्वाधार अर्थात् सुविधाभोग नै एकीकृत बस्तीप्रतिको आकर्षण भएको उनी सुनाउँछन्।
भूकम्पपछिको पुनर्निर्माणले सिन्धुपाल्चोकले अर्को पहिचान थपेको छ, त्यो हो– धेरै एकीकृत नमुना बस्ती भएको जिल्ला। गिरानचौरबाट सुरु भएको एकीकृत बस्ती फैलिँदै जाँदा जिल्लामा यस्ता २३ बस्ती बनेका हुन्। ती एकीकृत बस्तीमा अहिले एकसाथ सडक, सामुदायिक भवन, स्वास्थ्य चौकी, ढल व्यवस्थापनलगायत भौतिक पूर्वाधार संरचनाले भरिपूर्ण छन्।
प्रकाशित: १२ वैशाख २०८२ १३:०७ शुक्रबार