समाज

२०७२ भूकम्पको केन्द्र बारपाकमा दाहाल (तस्बिरहरू)

दश वर्षअघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन नेपालमा महा विनासकारी भूकम्प गएको थियो। दिउँसो ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पको प्रभाव आजसम्म पनि कायम छन्। भूकम्प गएकै दिन पारेर आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बारपाक पुगेका छन्।

बारपाक दाहालको निर्वाचन क्षेत्र पनि हो। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गोरखा–२ बाट निर्वाचित सांसद हुन्। बारपाक पुगेर दाहालले त्यो भीषण विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय रहेको उल्लेख गरेका छन्। ‘एक दशकअघि आजकै दिन गएको महा विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाकमा म हिजोदेखि जनतासँग छु,’ दाहालले फेसबुकमा लेखेका छन्, ‘त्यो भीषण विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ संकल्प साँच्चै अद्वितीय छ।’ 

पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा अनेकौँ चुनौती सामना गरिरहेको अनुभव गरेको दाहालले लेखेका छन्। यस्तै विगतमा एकताबद्ध भएर विपत्तिको सामना गर्न सकेको स्मरण गर्दै दाहालले अब पनि साझा उद्देश्यका साथ विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने दृढ विश्वास व्यक्त गरेका छन्। ‘नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको मुलुक हो। अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक छ,’ दाहालले लेखेका छन्। दाहालले बारपाक पुगेर भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनीको उद्घाटन र अवलोकन गरेका छन्। 

प्रकाशित: १२ वैशाख २०८२ १२:३० शुक्रबार

#puspakamal dahal