कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरी आर्थिक रूपमा सक्षम बनाउन प्रतिभा खोजी कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ। महासंघका अध्यक्ष नविनचन्द्र ढुंगेलले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गरी व्यवसायिक बनाउने उद्देश्यले प्रतिभाको खोजी गर्न लागिएको हो।’ कार्यक्रम वैशाख २३, २४ र २५ गते विराटनगरमा आयोजना हुने आयोजकले जनाएको छ।
करुणा फाउन्डेसनका निर्देशक योगेन्द्र गिरीले अपाङ्गता भएका व्यक्तिहरूमा विभिन्न प्रतिभा भए पनि प्रस्फुरणको अवसर नपाएको बताए। उनले भने, ‘अहिले पनि अपाङ्गता भएका व्यक्तिहरूले कष्टकर जीवन बिताइरहेका छन्। उनीहरूको प्रतिभा उजागर गरी रोजगारीमा जोड्ने कार्यक्रमको लक्ष्य छ।’
कार्यक्रममा साहित्य, वक्तृत्वकला, सङ्गीत, गायन, अभिनय, नृत्य, चित्रकला, हस्तकला र नवप्रवर्द्धनलगायत विधामा प्रतिभा देखाउन इच्छुकले भिडियो पठाएर सहभागी हुन सक्नेछन्।
प्रकाशित: ५ वैशाख २०८२ २०:३३ शुक्रबार