समाज

वीरगन्जमा पाँचौं दिन पनि तनाव कायमै, पक्राउ परेकाको रिहाइ माग्दै प्रदर्शन

वीरगन्जमा बुधबार दिउँसो प्रदर्शनकारीले टायर जलाउँदै।

वीरगन्जमा चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव पाँचौं दिन बुधबार पनि कायमै रह्यो।

पक्राउ परेकाहरूको रिहाइको माग गर्दै मंगलबार रातिदेखि सुरु भएको प्रदर्शन बुधबार दिनभरि जारी रहँदा नगरको शान्ति सुरक्षा थप चुनौतीमा परेको छ।

पर्सा प्रहरीले झडपको घटनामा संलग्न भन्दै चार जनालाई मंगलबार पक्राउ गरेको थियो। तीमध्ये दुई जनाको रिहाइको माग गर्दै युवाहरूले मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना गर्न खोज्दा प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरी तितरबितर पारेको थियो।

त्यसपछि प्रदर्शनकारीले आदर्शनगर चोक, घण्टाघर लगायतका क्षेत्रमा टायर बालेर विरोध जनाएका थिए।

बुधबार बिहान पनि विभिन्न स्थानमा टायर जलाउँदै प्रदर्शन भएपछि अवस्था फेरि तनावग्रस्त बनेको थियो। प्रदर्शनलाई नियन्त्रणमा लिन वीरगन्जका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रदर्शनकारी युवाका अगुवासँग छलफल थालेका थिए।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार पाँच बुँदे सहमति अनुसारै दोषी पहिचान भएकालाई मात्र पक्राउ गरिएको हो। बुधबार पनि घटनासँग सम्बन्धित आरोपमा थप एक जना पक्राउ गरिएको जानकारी उनले दिए।

यसअघि वैशाख १ गते जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक बसेर पाँच बुँदे सहमति गरिएको थियो।

उक्त सहमतिमा झडपमा संलग्न दोषीलाई वैशाख ३ गतेभित्र कारबाही गर्ने, धार्मिक सहिष्णुता कायम राख्न सबै पक्ष प्रतिबद्ध रहने तथा कानुनी प्रक्रिया अनुसार सहयोग गर्ने उल्लेख थियो।

सहमति पत्रमा राजनीतिक दलका प्रतिनिधि, हिन्दू र मुस्लिम समुदायका अगुवाहरूको समेत हस्ताक्षर थियो।

चैत ३० गतेको झडपपछि लगाइएको कर्फ्यू आइतबार रातिदेखि हटाइए पनि वीरगन्जको पूर्व बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेटबीचको क्षेत्रमा निषेधाज्ञा जारी छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) अनुसार अनिश्चितकालीन निषेधाज्ञा जारी गर्दै कुनै पनि सभा, जुलुस वा प्रदर्शन गर्न नपाइने जनाइएको छ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिइए पनि प्रदर्शन जारी रहेको छ। प्रहरीले स्थिति नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १८:२९ बुधबार