समाज

नेपालमा बाघको सङ्ख्या बढ्यो, बढेन बासस्थान क्षेत्र

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थान क्षेत्र बढाउनुपर्ने आवश्यकता देखिएको छ। निकुञ्ज, मध्यवर्ती क्षेत्र र अन्य वन बाघको बासस्थान भए पनि सङ्ख्या बढेसँगै बासस्थानको समस्या देखिएको छ।  

चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउनुपर्ने बताए। ‘पछिल्लो पाँच वर्षदेखि बाघको सङ्ख्या बढेकाले बासस्थान पनि थप्नुपर्छ,’ उनले भने, ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर संरक्षण गर्नुपर्छ, यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।’

सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ थियो, सन् २०२२ मा बढेर ३५५ पुगेको छ। सन् २०१३ मा १९८ र सन् २०१८ मा २५३ थियो। सङ्ख्या बढे पनि बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताए। एक सय वर्षअघि विश्वमा एक लाख हाराहारी बाघ रहेकामा अहिले पाँच हजारमा झरेको उनले जानकारी दिए। पछिल्ला वर्षमा संरक्षणमा ध्यान दिइएकाले सङ्ख्या बढेको हो। 

नेपालको वन क्षेत्रमा पाँच सय हाराहारी बाघ अटाउन सक्ने आचार्यले बताए। ‘निकुञ्जको कोर क्षेत्रमा ४०४ बाघ राख्न सकिन्छ,’ उनले भने। बाघको मुख्य आहार मृग प्रजाति भएकाले यसको पनि संरक्षण जरुरी छ। मृगसँगै बाँदर र घरपालुवा जनावर पनि बाघको आहार बन्ने गरेको जानकारी दिइयो। रासस

प्रकाशित: ११ चैत्र २०८१ १०:५३ सोमबार