एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्मको निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वी खण्डको स्तरोन्नति सुस्त गतिमा चलिरहेको छ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डलाई एसियाली राजमार्गमा परिणत गर्न काम गरिरहेको छ। एभ्रास्कन कालिका जेभीले निर्माणको जिम्मा पाएको छ। काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिलेसम्म सडक स्तरोन्नतिमा १५ प्रतिशतमात्र प्रगति भएको छ। उनको बुझाइ छ, निर्माण अवधिको हिसाबले अहिलेसम्म २० प्रतिशतभन्दा बढी काम भइसक्नुपर्थ्यो।
एभ्रास्कन कालिका जेभीले २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८३ माघ १९ गतेसम्म निर्माण सक्नुपर्ने छ। पन्तले ठेक्का पाएको कम्पनीलाई कामको गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा यो सडकको शिलान्यास गरेका थिए। पहिलो वर्ष १२ प्रतिशतमात्र प्रगति भएको र यो वर्ष पनि खासै सुधार नदेखिएमा बाँकी एक वर्ष १० महिनामा आयोजना पूरा गर्न कठिन हुने देखिन्छ।
‘अहिले काम गर्न मौसम पनि अनुकूल छ,’ पन्तले भने, ‘तर निर्माण कम्पनीले अपेक्षित गतिमा काम गरेको छैन। हामीले दबाब दिइरहेका छौँ।’ अहिले कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ। एक सय ४३ कल्भर्टमध्ये ९३ वटाको काम सकिएको छ। १८ साना पुलमध्ये १७ वटाको निर्माण चलिरहेको छ।
कम्पनीले अत्याधुनिक उपकरण पनि प्रयोग गरिरहेको छ, तर पुल निर्माणको प्रगति जम्मा १३ प्रतिशत छ। एसियाली विकास बैंकको ऋण र नेपाल सरकारको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँमा सडक, कल्भर्ट र साना पुलको ठेक्का दिइएको हो।
कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का भने अर्को कम्पनीले पाएको छ। बर्खा लागेपछि काम गर्न गाह्रो हुने भएकाले त्यसअघि गति बढाउन निर्देशन दिइएको पन्त बताउँछन्। यो आर्थिक वर्षमा कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ।
चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’ को निर्माण पनि तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। सरकारको वन्यजन्तुमैत्री पूर्वाधार मापदण्डअनुसार यो संरचना बनिरहेको पन्तको भनाइ छ। उनका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाइ र १५ मिटर लम्बाइको हुनेछ, जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुन्छ। रासस
प्रकाशित: १० चैत्र २०८१ १२:१४ आइतबार