समाज

७ करोड ३७ लाखमा पक्की पुल बनेपछि स्थानीय खुसी

एखुवा खोलामा ७ करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल बनेको छ। हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय भोजपुरले बनाएको हो। 

३७ मिटर लम्बाइको यो पुल एउटा स्पानमा निर्माण भएको छ। विसं २०७९ चैतमा सुरु भएको यो पुल दुई वर्षको अवधिमा बनेको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले समयमै निर्माण सम्पन्न भएको बताए। पुल बनेपछि सवारीसाधन चल्न थालेका छन्।

पुलले स्थानीयको आवतजावत सहज बनाएको छ। प्रादेशिक सडक, पुल आयोजनाका संयोजक सूर्यनारायण चौधरीले पानीको बहावलाई ध्यानमा राखेर पुल बनाइएको बताए। हतुवागढी–९ का वडाध्यक्ष सञ्जाल राईले दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको र वर्षौंदेखिको समस्या हल भएको बताए। उनले भने, ‘पुल नहुँदा जोखिम थियो, बाढीमा खोला तर्न सकिँदैनथ्यो। अब सहज भएको छ।’

वर्षौंदेखि खोलाले सास्ती दिँदै आएकोमा पुल बनेपछि स्थानीय खुसी छन्। भौगोलिक विकटता र उदयपुर–भोजपुर जोड्ने दूधकोशीमा पुल नहुँदा सामान ढुवानीमा समस्या थियो। अब यो कठिनाइ पनि हटेको छ। रासस

प्रकाशित: ९ चैत्र २०८१ ११:२९ शनिबार