विराटनगरस्थित बालसुधार गृहमा देखिएको समस्या समाधान गर्न मोरङमा सक्रिय बालअधिकार तथा मानव अधिकारवादी संघ-संस्थाहरूले माग गरेका छन्।
बुधबार इन्सेक, ओरेक, सिविन नेपाल लगायतका संस्थाहरूले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापनपत्र बुझाउँदै बालसुधार गृहका समस्याहरू समाधान गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्र बुझाउँदै सिविन नेपाल, कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख बासुदेव अधिकारीले बालसुधार गृह सुधारका लागि चारवटा मुख्य माग राखिएको जानकारी दिए।
उनका अनुसार बालसुधार गृहको क्षमताअनुसार मात्र बालकहरू राख्ने व्यवस्था गर्नुपर्ने, १८ वर्ष पूरा गरेका किशोरहरूलाई छुट्टै ब्लकमा राख्नुपर्ने, नियमित स्वास्थ्य जाँच र मनोपरामर्श सेवाको व्यवस्था गर्नुपर्ने र जीवन उपयोगी सीपमूलक तालिम उपलब्ध गराउनुपर्ने माग राखिएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादवले स्थानीय तहबाट मात्रै यी समस्याहरू समाधान हुन नसक्ने उल्लेख गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाए।
बालसुधार गृहको क्षमता भन्दा धेरै बालबन्दी राखिएकाले उनीहरूलाई बस्न, सुत्नसमेत समस्या हुने गरेको छ। साथै, १८ वर्षभन्दा माथिका किशोरहरू पनि एउटै ठाउँमा राखिएकाले बेलाबेलामा झडप हुने गरेको छ।
गत फागुन २३ गते भएको झडपमा तीन जना बालक घाइते भएका थिए। ५० जनाको क्षमता रहेको बालसुधार गृहमा हाल २४१ जना बालबन्दी राखिएको छ।
प्रकाशित: ६ चैत्र २०८१ २०:०७ बुधबार