समाज

बेलटार बजारमा आगलागी: ३ घर नष्ट, १ करोड २२ लाखको क्षति

मङ्गलबार दिउँसो पौने ३ बजे उदयपुरको बेलटार बजारमा आगलागी हुँदा ३ घर पूर्णरूपमा ध्वस्त भए भने ४ घरमा आंशिक क्षति पुग्यो। चौदण्डीगढी नगरपालिका–७ बेलटार कल्याण चोकका शरणकुमार राईको इँटाको पर्खाल र टिनको छाना भएको २ तले घरमा विद्युत् सर्ट भएर लागेको आगोले उनको सहित ३ घर जलेर क्षति भएको हो।

आगोले शरण, छिमेकी सर्वधन राई र कालुमान राईको घर तथा घरभित्र रहेका सम्पूर्ण धनमाल, कागजात, नगद र सुनचाँदी जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सोही ठाउँका कविन्द्र राई, अमरबहादुर राई, विजय राई र कुमार राईको घरमा पनि आगोले आंशिक क्षति पुर्‍याएको छ।

आगलागीबाट शरणको ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सर्वधनको ५० लाख रुपैयाँ र कालुमान राईको ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, कुमार राईको ३ तले पक्की घरको झ्यालको सिसा, वायरिङको तार र पानी ट्याङ्की जलेर करिब १ लाख ५० हजार रुपैयाँको क्षति भएको छ। रविन्द्र राईको २ लाख रुपैयाँ, अमरबहादुर राईको १ लाख ५० हजार रुपैयाँ र अर्का कुमार राईको २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विजय राईको काठको टाँडे घरको आधा भाग जलेर २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसरी आगलागीबाट करिब १ करोड २२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।

आगो निभाउने क्रममा छिमेकी ३४ वर्षीय कृतिमान राईको हातमा आगोले जलेर सामान्य घाइते भएका छन्। उनको नगर अस्पताल बेलटारमा उपचार भइरहेको छ। अन्य चौपायाको भने क्षति भएको छैन। आगो नियन्त्रणका लागि चौदण्डीगढी नगर, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरबाट गरी ३ वटा दमकल प्रयोग गरेर साँझ ५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ। आगो निभाउन इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बबिन राईको कमान्डको टोली, सशस्त्र प्रहरी बेस बेलटारको टोली र स्थानीयले संयुक्त प्रयास गरेर सफल भएको प्रहरीको भनाइ छ।

प्रकाशित: ६ चैत्र २०८१ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App