समाज

नीम चाचाको ‘बैकुण्ठपुरी’

जिजु हजुरबुवाहरूले प्रयोग गर्ने सामग्रीले नयाँ पुस्ता उत्साहित

नीम चाचाका नामले परिचित नीम बहादुर रिजालले उमेर अवस्थाका कारण विगत केही वर्षदेखी पत्रकारितामा दौडधुप गर्न छाडेका छन् । उमेरले ७१ वर्ष काटेका उनले अहिले ‘बैकुण्ठपुरी’ नामक संग्राहलय निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

पेसाले पत्रकारिता गर्ने नीम बहादुर रिजाल यती बेला संग्राहलय बनाएर पुराना सामग्रीहरू सङ्कलनमा जुटेका छन् । करिब तिन दशक पत्रकारिता गरेका रिजालले २०५१ सालदेखि विभिन्न मिडियामा काम गरे ।

गोरखापत्र, कान्तिपुर, नेपाल टेलिभिजनमा लामो समय जिल्ला सम्वाददाताको रुपमा काम गरेका उनले जिल्लामै अन्तर पुकार साप्ताहिक पत्रिका प्रकाशन गर्ने गरेका थिए । २०६१ सालमा नेपाल पत्रकार महासङ्घको जिल्ला अध्यक्ष भएका रिजालले ०६२–६३ मा भएको जनआन्दोलनको समेत पत्रकारिताको माध्यमबाट सशक्त नेतृत्व गरे ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–४, वाङलाको आमडाँडामा स्थापित संग्राहलयमा जिजु हजुरबुवाहरूले प्रयोग गर्ने तर, अहिले लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामानहरू राखिएको छ ।

हाम्रा अग्रज पुस्ताले प्रयोग गरेका तर अहिलेको पुस्ताले नदेखेका सामाग्रीहरू उक्त संग्राहलयमा छन् ।  कपडा राख्ने काठको मदुस, घ्यु राख्ने काठको हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी आदि छन् । उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पल, पुराना भरुवा बन्दुक, हातले बनाएका छालाका जुत्ता लगायतका वस्तुहरू संग्राहलयको मुख्य आकर्षणको रुपमा रहेको रिजालले बताए ।

पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैँटो, भजनमा बजाउने खैंजडु, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुक्का, चिलिम, पुराना टेप रेकर्ड, भोटे ताल्चा, दाउ, बाँसको काँईयो लगायतका थुप्रै वस्तुहरू संग्राहलयमा छन् । संग्राहलय परिसरलाई आकर्षक बनाउन सेल्फी जोन, परम्परागत पोसाक, जनावरका डमीहरू प्रयोग गरिएको छ । 

‘हाम्रा अग्रजहरूले प्रयोग गरेका पुराना वस्तुहरू लोप हुन थालेका छन्,रिजालले भने,‘भावी पुस्तालाई सो कुराको जानकारी समेत नहुने देखिएकाले संग्राहलय बनाएर पुराना वस्तुहरू संकलन गरिएको हो ।’

कला संस्कृति लोप हुँदै गएका हरेक संरचनालाई संरक्षण गर्दै बनाएको संग्राहलय अर्घाखाँचीको प्रमुख पर्यटकीय स्थल बन्न सक्ने सरोकारवालाहरूको भनाई छ । यस्ता खालका ऐतिहासिक संरचना निर्माण गर्ने संघसंस्थालाई तिनै तहका सरकारले आर्थिक सहयोग गरेर प्रोत्साहन गनु पर्ने उनीहरूको भनाई छ ।

बैकुण्ठपुरी अवलोकन आगामी पुस्ताका लागि सिकाइ स्थल बन्न सक्ने संग्राहलय अवलोकन गर्न पुगेका योगेश पन्थीले बताए । ‘आजका पुस्ताले नदेखेका सामाग्री हेर्न र मानव विकासका चरणको अवलोकन गर्न महत्त्वपूर्ण स्थान हो । यसलाई पर्यटकीय र ऐतिहासिक बनाउन सक्ने हो भने भावी पुस्तालाई समेत यसले आकर्षित गर्ने सक्छ’ पन्थीले भने ।

पुराना साम्रगीहरु हेर्दा अहिलेका युवा पुस्ता उत्साहित छन् । संस्कृति, प्राचीनता, सभ्यता र सामग्रीको रक्षाको उद्देश्यले स्थापना गरिएको बैकुण्ठपुरी संग्राहलय युवा पुस्तासँगै आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । 

संग्राहलयमा दैनिक करिब ५० जनाले अवलोकन गर्ने गरेका र बिदाको दिनमा सय जनाभन्दा धेरैले संग्राहलय अवलोकन गर्ने गरेका सञ्चालक उमा रिजालले बताइन् । अवलोकनकर्ताले पुराना सामग्री हेर्न, फोटो खिच्न, टिकटक बनाउन, मगर ड्रेसलगायत विभिन्न खालका पोसाक लगाएर नाच्ने रमाइलो गर्ने गर्दछन् ।

प्रकाशित: २८ फाल्गुन २०८१ १७:०४ बुधबार