पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताएकी छिन्।
सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताइन्। उनले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको बताइन्। उनले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताइन्। न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने उनको भनाइ छ। उनले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताइन्। आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गरिन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन । कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन । यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’
प्रकाशित: २६ फाल्गुन २०८१ ११:३७ सोमबार