समाज

‘प्रार्थना सभा’ आयोजना गर्ने सात जना पक्राउ

टीकापुरमा प्रार्थना सभा आयोजना गर्ने मध्येका सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत रहेको स्रोतले जानकारी दिएको छ। 

इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पक्राउ परेकाहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही गरिने बताए। ‘आयोजक मध्येका सात जना पक्राउ परेका छन्’ उनले भने–‘ठगी अन्तर्गत मुद्दा दायर गर्ने र सोही अनुसार कारबाही हुन्छ।’

यही फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले सभामा उपचारका लागि आएका बिरामीहरूबाट ठूलो रकम सङ्कलन गरेको बताइएको छ। 

 

ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो। इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी नवीन राजा बुढाथोकीले पीडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए। ती बाहेकका व्यक्तिहरूको पैसा भने आयोजकले फिर्ता गरेको छैन।

सभामा भारतीय नागरिक बजिन्दर सिंहले वर्षौँदेखि अपाङ्गता भएका व्यक्तिहरूको उपचारका नाममा झारफुक गरेका थिए। ती मध्ये कतिपयले निको भएको बहाना गरेका थिए। सहभागीहरूका अनुसार ती निको भएको बहाना गर्ने व्यक्तिहरू आयोजककै मान्छे थिए। 

उनीहरुले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए। यही भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताइएको छ। पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौं व्यक्तिहरू सभामा सहभागी भएका थिए।

उनीहरु कोही ह्विलचियरमा थिए भने कसैलाई आफन्तले पिठ्युँमा बोकेर सभामा पुर्‍याएका थिए। टीकापुर नगरपालिका-५ स्थित खेल मैदान मानिसहरूले भरिभराउ थियो। मानिसहरूको सहभागिता देख्दा ठुलै मेला महोत्सवको झल्को देखिन्थ्यो।

भारतीय नागरिक सिंहकै उपस्थितिमा यस्तै सभा मंसिर ५ र ६ गते चितवनको सौराहामा समेत सम्पन्न भएको थियो। त्यहाँ समेत बिरामीलाई निको पार्ने भन्दै प्रचार गरेर मान्छे जम्मा पारिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०८१ १५:१६ शनिबार