कोही आगोले निलेर बचाएका भग्नावशेष सोहोर्दै छन्, कोही क्षतिग्रस्त संरचना स्याहारेर खाँबाखुट्टी ठड्याउँदै छन्, कोही क्षतविक्षत भवनको खरानी टक्टक्याउँदै नयाँ घर उठाउन लागिपरेका छन् । दिनहुँ २५/३० गाउँले स्वतःस्फूर्त रूपमा भेला भएर खटिरहेको देख्दा लाग्छ– सामाजिक काममा मानिस एक हुँदा सम्भव के छैन र !
बनाउन लागिएको चाहिँ इलाम नगरपालिका–४, जस्बिरेको जस्बिरे चिया उद्योग भवन हो । दशकदेखि चार सय गाउँलेको हातमुख जोर्ने आम्दानीको स्रोत हरियो चियापत्ती प्रशोधन गरिरहेको चिया उद्योग आगोले क्षणभरमै सखाप बनाएपछि उनीहरू सामूहिक रूपमा निःशुल्क श्रमदानमा जुटेका हुन् । यहाँ स्वतःस्फूर्त रूपमा श्रमदान गर्नेमा किसान मात्र छैनन्, गाउँले र सदरमुकामतिरबाट पुगेका कतिपय संघ–संस्था र युवासमेत छन् ।
स्थानीय सरद सुब्बा, गृष्म सुब्बा लगायतले १० वर्षदेखि सञ्चालन गरिरहेको चिया उद्योग फागुन १३ गते रातिको आगलागीले पूर्ण रूपमा क्षति भयो । आगोले करिब चार करोड रुपैयाँको तयारी अर्थाेडक्स अर्ग्यानिक चिया खरानी बन्यो । भौतिक संरचना ध्वस्त भयो । नौ करोड क्षति अनुमान गरिएको यो दुर्घटनाले सुब्बा परिवारलाई मात्र चिन्तित बनाएन, उद्योगसँग जोडिएका सारा किसान र गाउँलेसमेतलाई स्तब्ध बनाइदियो ।
उद्यमी सरद आफैँ पनि केही महिनाअघि नेपालकै ‘बेस्ट टी मेकर’ घोषित व्यक्ति हुन् । लामो समय अर्काको उद्योगमा कामदारका रूपमा रहेका सरदले बनिबुतोबाट जोडेको जायजेथाले उभ्याएको उद्योगमा सयौँ किसानको ‘मन जितेका’ थिए । उनले उत्पादन गरेको उच्च गुणस्तरको अर्ग्यानिक तयारी चिया नेदरल्यान्ड, चीन, अमेरिका, जापानलगायत दर्जनभन्दा बढी देशमा थेगिनसक्नु माग हुन थाल्यो । उनको मेहनतप्रति किसानसमेत उत्साही भए । सुब्बाले किसानसँग समन्वय गरी उद्योगलाई अझ विस्तार गर्दै उनीहरूलाई अर्ग्यानिक उत्पादनमा प्रोत्साहन गरिरहे । सबैको चिया अर्ग्यानिक प्रमाणित गर्नमा सघाए र आफ्नो उद्योगको उत्पादनमा पहिलो चरणमै आधिकारिक सरकारी लोगो टाँस्न सफल बने ।
फलस्वरूप, उद्योगसँग चार सय किसान जोडिए । उनीहरूको उत्पादनले उद्योगलाई तेस्रो मुलुकका चिया व्यापारीसम्म परिचित गरायो । बर्सेनि तेस्रो मुलुकका व्यापारी उद्योगमै आएर चिया अर्डर गर्न थाले । वर्षमा दुई हजार, पाँच हजार, १५ हजार किलो गर्दै उद्योगले उत्पादन परिमाण ३० हजार किलोसम्म पु¥याउन सफल भयो । र, उद्यमी सुब्बासहित किसानले चियाको मूल्य राम्रो पाउन थाले । गुणस्तरीय चिया उत्पादन गर्ने औँलामा गनिने उद्योगका रूपमा यो उद्योग पनि परिचित भयो भने संरचनासमेत सुरुको भन्दा चौगुणा भयो ।
तर, विद्युत् सर्ट भई सल्किएको आगोले किसानको सपना क्षणभरमै चकनाचुर बनाएपछि अहिले गाउँले पुनः उद्योग उठाउन जुर्मुराएका हुन् । ‘यो उद्योग किसानको रगत–पसिनालाई नगदमा परिणत गर्ने माध्यम थियो,’ अहिले दिनहुँ श्रमदान गरिरहेकी स्थानीय सिर्जना मुखियाले सुनाइन्, ‘हामी अब केही दिनमा पुरानै अवस्थामा उठ्नेछौँ ।’
स्थानीय विष्णु सुब्बा, विष्णु मुखियालगायत किसान र गाउँले दिनहुँ उद्योगको संरचना निर्माणमा खटिएका छन् । धेरैतिरका गाउँले एकै पटक आउँदा भिड ठूलो भएर काममा असर हुने भएपछि उनीहरूले काम गर्ने पालोसमेत मिलाएका छन् । ‘दिनहुँ २५ देखि ३० जनाले मात्रै काम गर्ने गरी गाउँले दाजुभाइले पालो मिलाउनुभएको छ,’ उद्योगीमध्येका गृष्मले भने, ‘फलानो गाउँको मान्छे फलानो दिन, अर्को गाउँको अर्को दिन भन्ने हिसाबले पालो मिलाएर सबै जुटेर सघाइरहनुभएको छ, हामी उहाँहरूको सहयोगप्रति सधैं नतमस्तक छौँ । यो सहयोग हाम्रा लागि सिथिल शरीरलाई आवश्यक पर्ने अक्सिजन रगतझैँ भएको छ ।’
श्रम गर्नेले मात्रै निःशुल्क सघाएका होइनन्, उद्योगको संरचना निर्माणका लागि कतिपय सामानसमेत गाउँले र छिमेकीले त्यहीँ पु¥याइदिएका छन् । स्थानीय व्यापारीले ‘पछि सकेका बेला तिर्नू’ भन्दै सिमेन्ट, रड, फलाम, जस्तापातालगायत पु¥याइदिएका छन् । ‘जस्बिरे चिया उद्योग कुनै उद्योगीको फगत उद्योग मात्र थिएन, सयौँ चिया किसानको रोजीरोटीको आधार पनि थियो,’ इलाम उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका व्यापारी कृष्ण पौडेलले भने, ‘अझ चियाका माध्यमबाट विश्वमा नेपालको नाम छर्नसमेत योगदान गरिरहेको उद्योग थियो जस्बिरे ।’ पौडेलले यो बेला उद्योग पुनर्निर्माणमा सघाउन सबैलाई आग्रहसमेत गरे । यही सिजनमा चिया प्रशोधन थाल्ने गरी उद्योग उठाउन लागिपरेको किसान विष्णु सुब्बाले बताए । ‘अब चैत १५ देखि चिया प्रशोधन सुरु हुन्छ,’ उनले भने, ‘सकेसम्म चैतभरमै यो उद्योगमा प्रशोधन थाल्ने तयारीमा छौँ ।’
प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर लगायतले क्षतिग्रस्त उद्योग स्थलमै पुगेर किसानलाई सान्त्वना दिँदै सहयोगको बचन दिएका छन् । कोशी प्रदेशसभा सदस्य गोविन्द गिरीले प्रदेशसभामै यो उद्योगलाई पुरानै अवस्था फर्काउन सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।
राति करिब ९ बजे सुरु भएको आगो बिहान ४ बजे मात्रै नियन्त्रण भएको थियो । आगो निभाउनेक्रममा उद्योगी सरदको अनुहार जलन भएको छ । उनी काठमाडौंको बर्न हस्पिटलमा उपचार गराइ काठमाडौँमै बहिनीको घरमा आराम गरिरहेका छन् । बेला–बेला अस्पतालमा ‘फलोअप’ गराइरहनुपरेको सरदले बताए । ‘एउटा अकल्पनीय विपत्तिसँग जुधिरहेको छु । मेरो सपना र श्रम खिपेर धेरै दुःखले उभ्याएको उद्योग आँखाअगाडि जल्दा मैले आफूलाई सम्हाल्न सकिनँ । आगोको लप्काले खरानी बनिरहेका मेसिन, त्यो संरचना, तयारी अवस्थामा राखेको चिया... मैले सहन सकिनँ,’ उनले भने, ‘उद्योग जोगाउन प्रयत्न गर्दा आफूसमेत जलेको पत्तो भएन तर अब म बिस्तारै उठ्दै छु ।’
उनले आफू मानसिक रूपमा समेत निकै बिथोलिएका बेला इष्टमित्र, छिमेकी, सहकर्मी र विशेषतः किसानले गरिरहेको सहयोगले आफूलाई ‘जिउँदै मर्न’ नदिएको बताएका छन् । ‘सबैको सहानुभूति, सद्भाव र हार्दिकताले मेरो चिन्ता, बेचैनी र विपत्तिलाई एकसाथ हटाइदिएको छ,’ उनले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिँदै भनेका छन्, ‘मेरो हृदय पग्लिएको छ । आत्मबल उकासिएको छ । मलाई फेरि उठ्नका लागि तपाईँहरूले जसरी काँध थाप्नुभएको छ, यो मेरो जीवनभरका लागि ऊर्जा बन्नेछ । यसै सिजनदेखि कारखाना सञ्चालन गर्ने हिम्मत आएको छ । अब जस्बिरे चिया प्रशोधन कारखानालाई हाम्रो स्वामित्व मात्र होइन, हरेकको अपनत्व हुने गरी उभ्याउने प्रयास गर्नेछु ।’
प्रकाशित: २१ फाल्गुन २०८१ १२:२४ बुधबार