समाज

मतदाता नामावलीमा विवाद : डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ

केन्द्रीय कार्यसमिति निर्वाचनको नामावलीमाथि उजुरी

नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रीय कार्यसमिति निर्वाचनको नामावलीमाथि उजुरी परेपछि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ।

उच्च अदालत बार एशोसिएशनले काठमाडौँ अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो। निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो। उक्त नामावलीमा सोमबारसम्म दाबीविरोधको समय तोकिएको थियो।

उच्चले काठमाडौँ जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौँले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो। डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे/नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय र"पमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए।

उनले नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौँ जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए। उनले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ।

निर्वाचन समितिले एकतर्फी रूपमा गरेको निर्णय बदर गर्नुपर्ने समेत डिएलएको माग रहेको छ।

प्रकाशित: २० फाल्गुन २०८१ १२:१६ मंगलबार