समाज

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन विवादित केबलकार बन्न नहुने भन्दै 'नो केबलकार' अभियान चलाइरहेका आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ।

गत माघ २० गते सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक गृह मन्त्रालयका सह-सचिव प्रेम प्रसाद भट्टराईले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन्।

'पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनको लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

सरकारी पक्षबाट वार्ता समिति बनेपछि आन्दोलनरत पक्षबाट पनि समिति बनेको छ। दुई समितिका बीचमा वार्तासमेत भएको थियो। तर, पछि आन्दोलनरत पक्षले सरकारी पक्षबाट आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै वार्ता नै बहिष्कार गर्‍यो।

त्यसयता थप संवाद हुन सकेको छैन। पाथीभरामा दैनिक जसो आन्दोलन भइरहेको छ। त्यहाँ प्रहरी र आन्दोलनरत स्थानीयबीच झडप हुने गरेको छ।

प्रकाशित: ९ फाल्गुन २०८१ १८:३४ शुक्रबार

#Pathivara kebalkar