समाज

‘स्याउका लागि बजार नीति बाधक’

जुम्लाकी नारायणी चौलागाईले व्यवसायीक स्याउ खेती गर्न थालेको १९ वर्ष भयो । केही वर्ष यता जुम्लाको स्याउको चर्चा देशभरि छ । बाहिर जुम्लाको स्याउको जति चर्चा छ, त्यति नै किसानको पीडा गहिरो छ । चौलागाईले कर्णालीमा राम्रो सडक नहुँदा, जलवायु परिवर्तनको असर र बजार नीति राम्रो नहुँदा स्याउले उचित मूल्य पाउन नसकेको गुनासो गरिन् ।

कर्णाली उत्सवको ‘स्याउ सह’ सत्रमा नारायणीले कर्णालीका समग्र स्याउ किसानका समस्या र सम्भावनाबारे चर्चा गरिन् । उनले राम्रो सडक र बजार नीति राम्रो हुने हो भने कर्णालीको स्याउ देशभित्र मात्रै नभएर देश बाहिर पनि निर्यात गर्न सकिने बताइन् ।

‘हामीले उत्पादन गरेको स्याउ अहिले देशभित्रै बजारमा बेचेका छौँ, यदि हामीले उद्योग स्थापना गरेर स्याउलाई गुणस्तर बनाएर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्यौँ भने अझ धेरै मूल्य पाउन सक्छौँ, उनले भनिन्, ‘राज्यले उचित नीति र सडक सञ्जाललाई भरपर्दो बनायो भने कर्णालीका स्याउ कृषकले हजारौँ रोजगारी सिर्जना गर्न सक्ने क्षमता राख्दछौँ ।’ 

नारायणीले चालू आर्थिक वर्षमा जुम्लाबाट ६१ करोड ४१ लाख रुपैयाँको स्याउ जुम्लाले निर्यात गरेको तथ्याङ्क प्रस्तुत गरिन् । उनका अनुसार यसमा काँचो र बिचौलियाले निर्यात गरेको तथ्याङ्क समावेश छैन । ५० प्रतिशत जति स्याउ त जुम्लामै कुहिएको अवस्था छ । नारायणीले जुम्लालाई स्याउ विशेष क्षेत्र घोषणा गर्नुपर्ने धारणा राखिन् । उनले प्रविधि हस्तान्तरण गर्दा ५० प्रतिशत लगानी कृषकले गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।

प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सडकको पहुँचपछि स्याउको बजारीकरण गर्न सहज भएको बताए । जुम्लासँगै स्याउ फल्ने माथिल्लो कर्णालीलाई स्याउ जोन बनाउन, प्रदेश सरकारलाई स्याउ बोर्ड गठन गर्न आवाज उठाउँदै आएको उनले बताए ।

स्याउ व्यवसायी प्रबल शाहीले उत्पादनमा गुणस्तर नहुनु, ग्रेडिङ नहुनु, सडकको गुणस्तरलगायतका चुनौती रहेको बताए । ‘कृषकले उत्पादन गरेको स्याउलाई विभिन्न शीर्षकमा राखेर बजारीकरणको ग्यारेन्टी गर्न हामी व्यवसायी तयार छौँ,’ उनले भने, ‘राज्यबाट सहयोग छैन।’

स्याउबाट बन्ने पेय पदार्थ कम्पनीहरूसँग समन्वय गराएर पूर्ण रुपमा उत्पादन खपत गराउन पहल भएपनि सरकारले यसका लागि सुरक्षा ग्यारेन्टी गर्न नसकेको उनको भनाई छ ।

कृषि प्रसार अधिकृत धनबहादुर कठायतले १० वटा प्राङ्गारिक मलले स्याउको उत्पादन बढेको पाइएकाले रासायनिक मलको जरुरी नभएको बताए । उनले विगतमा जुम्लाको स्याउलाई जति राम्रो मानिन्थ्यो, अहिले त्यो गुणस्तर कायम नरहेको बताए ।

प्रकाशित: ६ फाल्गुन २०८१ १७:५१ मंगलबार

#Karnali Utsab